रमेश हतुवाली/विराटनगर । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार लागेसँगै स्थानीय बजारहरुमा किनमेल गर्नेहरुको घुइचो लागेको छ ।
कोशी प्रदेशको राजधानी शहर विराटनगरका अधिकांश बजार क्षेत्रहरुमा तिहारका लागि आवश्यक खाद्य पदार्थ र पूजा सामग्री किन्नेहरुको यत्तिवेला घुइचो लागेको छ । स्थानीय गुद्री बजारमा तरकारी, फूलफूल, विभिन्न किसिमका फूल, लक्ष्मीका प्रतिमा, कुचो, ढाकी, भाइमसला, उपहार सामग्री, विभिन्न किसिमका बस्त्रहरु, धुपबत्ती, सप्तरंगी टिकाका लागि आवश्यक रंगहरु लगायतका सामग्रीहरु किन्नेको लर्को देखिन्छ । त्यसैगरी सुन पसलहरुमा तिहारका लागि सुन र चाँदीका सिक्का, लक्ष्मीका प्रतिमा, विभिन्न भाँडाहरु किन्ने पनि उत्तिकै देखिएका छन् ।
तिहारका लागि विराटनगर र मोरंग जिल्लाका विभिन्न क्षेत्रबाट भारतीय सीमामा रहेको जोगवनी बजारमा किनमेल गर्नेहरुको संख्या पनि निक्कै बाक्लो रहेको छ । विशेष गरी सावुन, सरफ, चिनी, जिरा, धनिया, मरिच, फलफूल, विभिन्न फेन्सी सामग्री, भाँडाकुँडा, लत्ताकपडा विराटनगरको तुलनामा सस्तो हुने भएकाले पनि जोगवनी जानेहरुको संख्या बढेको हो । भन्सार क्षेत्रमा कडा चेकजाँच हुँदा हुँदै पनि जोगवनीको आकर्षण नघटेको स्थानीयहरुको भनाइ छ ।
यसैबीच तिहार र छठ पर्वलाई मध्यनजर गर्दै विराटनगर, धरान, विर्तामोड, इटहरी लगायत कोशी प्रदेशको सुरक्षा व्यवस्था कडा बनाईएको छ । जोगवनी नाकाबाट पटका लगायतका सामग्री आउन सक्ने भएको हुनाले त्यसलाई रोक्नका लागि नेपाल प्रहरीले सक्रियता देखाएको छ । तिहार र छठपर्वमा हुन सक्ने विभिन्न आपराधिक गतिविधी रोक्न पनि प्रहरी सक्रिय भएको छ ।
तिहार मान्न विराटनगरबाट गाउँ फर्कनेहरुको लामो लर्को पनि विराटनगर र रंगेली वसपार्कमा देख्न सकिन्छ ।
