RayNewsDaily
शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने
  • शनिबार अपराह्नपछि चक्रवातको प्रभाव र वर्षा घट्ने ।
  • केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना ।
  • काभ्रेको रोशीमा ५०.२ मिलिमिटर वर्षा मापन ।

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव र वर्षाको गतिविधि कम हुँदै जाने जनाएको छ ।

विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

“शनिबार अपराह्नदेखि यसको प्रभाव क्रमिक रूपमा कम हुने भए तापनि स्थानविशेषको मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहनुहोला”, विभागका मौसमविद् डेभिड ढकालले बताउनुभयो ।

भारतमा शक्तिशाली चक्रवातका रूपमा विकसित भएको ‘अर्नब’ नेपाल प्रवेश गर्दा कमजोर बनेकाले यहाँ वर्षा, हिमपात तथा हावाहुरीको प्रभाव सामान्य रहेको विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो र राति देशका अधिकांश स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ ।

“आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका अधिकांश स्थानमा बदली रहनेछ । ती प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ”, मौसमविद् ढकालले भन्नुभयो ।

विभागका अनुसार आज राति पनि देशका अधिकांश स्थानमा बदली रहनेछ । यस अवधिमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेकामा केही स्थानमा भारी वर्षा तथा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ ।

विभागका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा काभ्रेपलाञ्चोक जिल्लाको रोशी मौसम मापन केन्द्रमा ५०.२ मिलिमिटर मापन भएको छ ।

यस अवधिमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिमका एक-दुई स्थानमा हल्का वर्षा भएको विभागले जनाएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update