RayNewsDaily
विपद्मा नेपाली सेनाको सक्रियता, उद्धारदेखि पुनःस्थापनासम्म समन्वय र सहकार्य
  • भोटेकोशीदेखि बुढीगण्डकीसम्मको विपद्मा नेपाली सेनाको सक्रियता ।
  • विभिन्न प्रभावित क्षेत्रबाट विदेशी नागरिकसहित १ हजार १०६ जनाको उद्धार ।
  • दुर्गम क्षेत्रमा राहत ढुवानीदेखि सडक तथा पुल पुनः सञ्चालनमा सहयोग ।

काठमाडौँ । नेपाली सेनाले भोटेकोशी बाढीपछि विभिन्न क्षेत्रमा भएका विपद्का घटनामा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई समन्वय, सहकार्य र आपसी सहयोगको उत्कृष्ट संयोजनका रूपमा प्रस्तुत गरेको छ ।

बाढीपहिरोले सडक तथा पुल भत्किएर आवागमन ठप्प भएका बेला बदलिँदो परिस्थितिअनुसार प्रविधिको उपयोग गरी विपद् प्रतिकार्यलाई प्रभावकारी बनाइएको सेनाले जनाएको छ । यसले सेनाको तत्परता र व्यावसायिक क्षमता प्रतिबिम्बित गरेको छ ।

सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार प्रतिकूल मौसम, दुर्गम भूगोल र चुनौतीपूर्ण परिस्थितिका बाबजुद नागरिकको जीवन रक्षालाई प्राथमिकतामा राखेर खोज, उद्धार, राहत वितरण र सुरक्षित स्थानान्तरणका काम गरिएको थियो । त्यस क्रममा सुरक्षा फौज समन्वयात्मक रूपमा परिचालित भएको थियो ।

रसुवामा बाढीपछि प्रभावित क्षेत्रको अवस्थाबारे सेनाले लेखमार्फत सार्वजनिक गरेको विवरणमा जोखिमपूर्ण परिस्थितिमा खटिएका सैनिकहरूको साहस, कर्तव्यनिष्ठा, व्यावसायिक दक्षता र सेवाभावले जनताको सुरक्षा तथा कल्याणप्रतिको प्रतिबद्धता व्यवहारमै अभिव्यक्त गरेको उल्लेख छ ।

समर्पणले नागरिकमा भरोसा जगाएको छ

भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा पुनःस्थापनाको काम जारी रहेकै बेला असोजमा भएको अविरल वर्षाले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम थप बढाएको थियो ।

बागलुङ, पर्वत, म्याग्दी, मनाङ र मुस्ताङलगायत जिल्लामा जनधनको क्षति भएको थियो । बाढीपहिरोले सडक तथा पुलमा क्षति पुर्‍याउँदा स्थानीय बासिन्दा र पर्यटकको आवागमनसमेत प्रभावित भएको थियो ।

विपद्को कठिन घडीमा नागरिकको जीवन रक्षा र सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै सेना तत्काल खोज तथा उद्धार, राहत वितरण र जोखिममा रहेका नागरिकको सुरक्षित स्थानान्तरणमा परिचालित भएको थियो ।

प्रतिकूल मौसम, दुर्गम भूगोल र चुनौतीपूर्ण परिस्थितिका बाबजुद नेपाली सेनाले स्थल तथा हवाई साधन, स्वास्थ्यकर्मी र इन्जिनियरिङ फौजसहित हजारौँ सैनिकलाई चौबिसै घण्टा परिचालन गरेको थियो । जोखिमपूर्ण स्थानमा रहेका १२७ जनालाई हवाई साधनमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो । प्रभावित क्षेत्रमा अत्यावश्यक राहत सामग्रीसमेत पुर्‍याइएको थियो ।

सडक अवरुद्ध भएका स्थानमा उद्धार तथा सडक पुनः सञ्चालनका लागि प्रयोग गरिने मेसिनमा इन्धन आपूर्ति गर्न ड्रोनको प्रयोगसमेत गरिएको थियो । बदलिँदो परिस्थितिमा प्रविधिको उपयोग गरी विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने सेनाको तत्परता र व्यावसायिक क्षमता यसबाट देखिएको छ ।

यसैक्रममा मनाङको चामे गाउँपालिका-४ स्थित ठाडो खोलामा पहिरोका कारण थुनिएको मर्स्याङ्दी नदीको बहाव पूर्ववत् सञ्चालनमा ल्याउन सेना सक्रिय रहेको थियो । अवरुद्ध विद्युत् प्रसारण लाइन सञ्चालनमा सहयोग गर्नुका साथै बाढीले बगाएको पुलको स्थानमा अस्थायी पुल निर्माण गरी माथिल्लो मनाङसँगको आवागमन सुचारु गराउन पनि सेनाले योगदान पुर्‍याएको थियो ।

त्यस्तै, नार्फाभूमि गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी मृत्यु भएका पर्यटकको शव हवाई माध्यमबाट उद्धार गर्ने कार्यमा सहयोग गरी सेनाले मानवीय दायित्व निर्वाह गरेको थियो ।

असोज २५ गते बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धारमा पनि सेना तत्काल परिचालित भएको थियो । एमआई-१७ सहित चारवटा हेलिकप्टर र स्थलमार्गबाट परिचालित उद्धार टोलीले विभिन्न प्रभावित क्षेत्रबाट विदेशी नागरिकसहित एक हजार १०६ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो ।

बाढी प्रभावित स्थानीयवासीका घरमा डुबानमा परेका सामान सुरक्षित रूपमा निकाल्न सहयोग गर्नुका साथै सडक सञ्जाल विच्छेद भएका क्षेत्रमा करिब १८ हजार ६८० किलोग्राम खाद्यान्न तथा राहत सामग्री ढुवानी गरिएको थियो ।

बाढीबाट क्षतिग्रस्त आरुघाटस्थित पुलको स्थानमा बेलिब्रिज जडान गरी आवागमन पुनः सञ्चालन गर्ने तयारी अघि बढाइएको थियो । प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन सेनाले गरेको यो पनि महत्त्वपूर्ण प्रयास हो ।

यसअघि भोटेकोशी बाढीबाट क्षति पुगेको सडक सुचारु गर्न देविघाटस्थित तादी खोला र बेत्रावतीस्थित फलाकु खोलामा एक्रोब्रिज जडान गरी सडक सञ्जालबाट विच्छेद भएको रसुवालाई पुनः जोड्ने कार्यमा सेनाले सहयोग पुर्‍याएको थियो ।

सेनाका यी प्रयास खोज, उद्धार र राहत वितरणमा मात्र सीमित छैनन् । विपद्मा परेका नागरिकको जीवन रक्षा, आधारभूत आवश्यकताको परिपूर्ति, सुरक्षित आवागमनको व्यवस्था र जनजीवनलाई सामान्य अवस्थामा फर्काउन सहयोग पुर्‍याउनु पनि यसका महत्त्वपूर्ण पक्ष हुन् ।

जोखिमपूर्ण परिस्थितिमा परिचालित सैनिकहरूको साहस, कर्तव्यनिष्ठा, व्यावसायिक दक्षता र सेवाभावले जनताको सुरक्षा तथा कल्याणप्रतिको प्रतिबद्धतालाई व्यवहारमै अभिव्यक्त गरेको सेनाले जनाएको छ ।

विपद् व्यवस्थापन सबै निकायको समन्वय र सहकार्यबाट मात्र प्रभावकारी हुन सक्ने सेनाको भनाइ छ । नेपाल सरकारको निर्देशनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय प्रशासन, स्थानीय तह तथा समुदायबीच स्थापित समन्वय र सहकार्यले खोज, उद्धार, राहत वितरण र तत्कालको पुनर्निर्माण कार्यलाई प्रभावकारी बनाएको छ ।

अन्य सुरक्षा निकाय तथा सम्बद्ध सरोकारवालाको एकीकृत प्रयासले विपद् प्रभावित नागरिकलाई समयमै सहायता पुर्‍याउन र जोखिम न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान दिएको छ ।

भौगोलिक अवस्था, सीमित एयर स्पेस, थुनिएका टनेल र पूर्ण रूपमा बन्द स्थलमार्गजस्ता चुनौतीका बाबजुद विपद्पछिको हवाई, जमिनी तथा टनेल खोज र उद्धार कार्य त्रुटिरहित रूपमा सम्पन्न गर्न नेपाली सेना सफल भएको विवरणमा उल्लेख छ ।

प्राकृतिक विपद्का कारण नागरिकको जनजीवन प्रभावित हुँदा उनीहरूको जीवन रक्षा र सुरक्षित भविष्य सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व हो । यस दायित्व निर्वाहमा सेनाले देखाउँदै आएको तत्परता, मानवीय संवेदनशीलता र समर्पणले सङ्कटको समयमा नागरिकमा भरोसा र आशा जगाएको छ ।

सेवा, सुरक्षा र मानवीय समर्पणलाई मूल भावका रूपमा आत्मसात् गर्दै नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि आफ्नो कर्तव्य निर्वाह गर्न प्रतिबद्ध रहेको जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, असोज ३१, २०८३  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update