- पहिरोले थुनिएको बूढीगण्डकी खुल्दा लेदो र गेग्रानसहित बाढी ।
- सेनाको टोली हवाई तथा स्थलमार्गबाट प्रभावित क्षेत्रमा परिचालन ।
- जगत् गाउँबाट ६ जनाको हवाई उद्धार, स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह ।
काठमाडौँ । गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली पुगेको छ ।
आज बिहान करिब ४ः३० बजे गोरखाको चुमनुब्री गाउँपालिका-३ स्थित फिलिममा पहिरोका कारण थुनिएको बूढीगण्डकी नदी खुलेपछि लेदो तथा गेग्रानसहितको बाढी आएको हो । बाढीले नदीको तटीय क्षेत्रमा क्षति पुर्याएको जानकारीपछि सेनाको उद्धार टोली परिचालन गरिएको हो ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बाढीपछि खोज तथा उद्धारका लागि सेनाको टोली हवाई र स्थलमार्गबाट प्रभावित क्षेत्रमा पुगेको छ ।
दुवै टोलीले सम्भावित अवरोध र प्रभावित क्षेत्रको अवस्थाबारे आकलन गरिरहेका छन् । पहिरोको जोखिममा रहेको जगत् गाउँबाट छ जनाको हवाई उद्धार गरिएको सेनाले जनाएको छ ।
काठमाडौँमा रहेको ‘कम्पोजिट क्विक रेस्पोन्स टिम’ हवाईमार्गबाट प्रभावित क्षेत्रमा तैनाथ भएको छ । टोलीले नदी तटीय तथा आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिरहेको छ । रासस
