किन्शासा । पश्चिमी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो)को कङ्गो नदीमा दुई डुङ्गा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने धेरैजना बेपत्ता भएका छन् ।
प्रान्तीय अधिकारीलाई उद्धृत गर्दै डीआर कङ्गोको सरकारी समाचार संस्थाले सोमबार जनाएको हो ।
इक्वाटर प्रान्तमा शनिबार रातिदेखि आइतबार बिहानको बीचमा दुर्घटना भएको हो । प्रान्तका आन्तरिक मामिलामन्त्री क्रिस्पिन म्पुतुले प्रारम्भिक विवरणअनुसार करिब १० जनाको मृत्यु भएको, धेरैजना बेपत्ता रहेको र ५७ जनालाई जीवितै उद्धार गरिएको बताउनुभयो ।
अधिकारीका अनुसार राजधानी किन्शासाबाट आएको एउटा डुङ्गा र छिमेकी सुद–उबाङ्गी प्रान्तको बुसिङ्गाबाट आएको अर्को डुङ्गा आपसमा ठोक्किएका थिए ।
स्थानीय सञ्चारमाध्यमका अनुसार बेपत्ताको खोजी तथा उद्धारकार्य जारी छ । सिन्ह्वा
