- शुक्रबारदेखि जिप सफारी सञ्चालन गर्ने तयारी ।
- बाढीले बिगारेका मार्ग मर्मत र स्तरोन्नतिको काम जारी ।
- सौराहासहित पाँच क्षेत्रबाट ७४ जिप सञ्चालन हुने ।
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दसैँअघि जिप सफारी सञ्चालनमा आउने भएको छ । सडकको अवस्था स्तरोन्नति गर्न भ्याइएमा यही शुक्रबारदेखि जिप सफारी सञ्चालन गर्ने तयारी गरिएको निकुञ्जले जनाएको छ ।
वर्षा सुरु भएसँगै गत असार १७ गतेदेखि निकुञ्जभित्र जिप सफारी बन्द गरिएको थियो । वर्षाका क्रममा आएको बाढीबाट बिग्रिएका बाटो मर्मत गर्ने, ढलेका रुख पन्छाउने तथा झाडी फाँड्ने काम सकिएसँगै सफारी सञ्चालन गर्न लागिएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिनुभयो ।
हरेक वर्ष वर्षाको समयमा निकुञ्जभित्र जिप सफारी बन्द गरिँदै आएको छ । यस वर्ष असोजको दोस्रो साता आएको बाढीले जङ्गलभित्रका मार्गमा क्षति पुर्याएकाले सफारी सञ्चालनमा ढिलाइ भएको सूचना अधिकारी थापामगरले बताउनुभयो ।
बाढीका कारण रिउखोला गहिरिएपछि अहिले ग्राभेलिङको काम भइरहेको छ । रिउखोलाको बाढीले टाइगरटप्स क्षेत्रमा जाने मार्गमा समेत समस्या भएकाले ग्राभेल हालेर मार्ग सञ्चालनयोग्य बनाउने काम भइरहेको उहाँले बताउनुभयो ।
निकुञ्जभित्र जिप सफारी बन्द भए पनि मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनमा भने जिप तथा हात्ती सफारी नियमित रूपमा सञ्चालन हुँदै आएका छन् ।
निकुञ्जभित्र सौराहा क्षेत्रबाट ३२, कसराबाट २२, मेघौलीबाट ११, अमलटारीबाट आठ र माडीबाट एउटा गरी ७४ वटा जिप सञ्चालन हुने गरेका छन् । रासस
