RayNewsDaily
निसीखोलाको बाढीसँगै बग्यो झिवाखोलावासीको सपना   

बागलुङ । लगातारको वर्षापछि निसीखोलामा आएको बाढीले धार परिवर्तन गर्दा बागलुङको निसीखोला गाउँपालिका–४ स्थित झिवाखोला र कानाबगर बजारको ठूलो क्षेत्र बगरमा परिणत भएको छ ।    
    
“मेरो घर यही थियो, अहिले त घरमाथिबाट निसीखोला बगिरहेको छ । जीवनको ४० वर्ष नाघ्यो, यत्रो बाढी निसीखोलामा कहिल्यै आएको थिएन । यही असोज ११ गते बिहान आएको बाढीले घरको नामोनिसान राखेन”, निसीखोला गाउँपालिका–४ झिवाखोलाकी डिलकुमारी रेग्मीले भावुक हुँदै भन्नुभयो ।    
    
उहाँको बस्ने बास छैन । जग्गा कहाँ थियो भन्ने पनि पत्तो छैन । अहिले दुई छोरासहित आफन्तको घरमा आश्रय लिएर बसेको उहाँले बताउनुभयो । रेग्मीजस्ता झिवाखोला बजारको २४ घरको दुखेसो उस्तै छ । बाढीले यस क्षेत्रमा २४ घर बगाएको तथा २१ घरमा क्षति पुर्याएको गाउँपालिकाले जनाएको छ ।    
    
निसीखोलाको पानीको सतह एक्कासी बढेपछि नदीले धार परिवर्तन गरी झिवाखोला बजारको पुरानो बस्तीमा प्रवेश गरेको थियो । बाढीले घर, गोठ, विद्यालय, सडक तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएपछि अहिले झिवाखोला र कानाबगर उजाड बनेको छ ।    
    
“बाढी आउँदैछ भन्ने सामान्य अनुमान त थियो तर यति ठूलो बाढी आउला भन्ने कसैले सोचेको थिएन”, स्थानीय मिलन हमालले भन्नुभयो, “विद्यालयमा क्षति पुगेको छ । धेरै स्थानीयले घरभित्रका सामान सार्नसमेत पाएनन् ।”    
    
निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीका अनुसार बाढीले झिवाखोला बजार र कानाबगरमा ठूलो क्षति पुर्याएको छ । बाढीले निसीखोला किनारमा रहेको मध्यपहाडी लोकमार्गको एक किलोमिटरभन्दा बढी पक्की सडक कटान गरेको छ । सडक कटान भएपछि डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको छ ।    
    
निसीखोला–४ मा रहेको निसीखोला आधारभूत अस्पताल, विद्यालय तथा झिवाखोला प्रहरी चौकीमा क्षति पुगेको छ । प्रहरी चौकीमा क्षति पुगेपछि सेवा अन्यत्रबाट सञ्चालन गर्नुपर्ने अवस्था आएको छ । निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको इन्टेक र नहर बाढीले बगाएको छ भने एउटा झोलुङ्गे पुलमा क्षति पुगेको छ ।    
    
बाढीबाट विस्थापित परिवारलाई सुरुमा जनजीवरा र प्रभा माध्यमिक विद्यालयमा बनाइएको अस्थायी शिविरमा राखिएको थियो । अहिले भने उनीहरूलाई आफन्त तथा छिमेकीको घरमा स्थानान्तरण गर्ने प्रयास भइरहेको छ ।    
    
“राहत लिएरमात्र लामो समय शिविरमा बस्न सकिँदैन । पीडितपरिवारलाई सुरक्षित रूपमा बस्ने ठाउँ आवश्यक छ”, निसीखोला गाउँपालिका–४ का वडाध्यक्ष टीकानिधि पौडेलले भन्नुभयो, “आफन्त र छिमेकीको घरमा कोठा खोजेर अस्थायी बसोबासको व्यवस्था मिलाउने काम भइरहेको छ ।”    
    
बाढीले घरको जग तथा आसपासको जमिन कटान गरेपछि कतिपय परिवारलाई आफ्नो घर रहेको ठाउँ पहिचान गर्न कठिन भएको स्थानीय बताउँछन् । वर्षौँदेखि बस्दै आएको बस्ती एकै रातमा बगरमा परिणत भएपछि स्थानीयवासीमा पुनःस्थापनाको चुनौती थपिएको छ ।    
    
अविरल वर्षापछि आएको पहिरोमा परी निसीखोला गाउँपालिका–३ हरधारामा एकै परिवारका चार जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उहाँका छोराहरू १३ वर्षीय मनोज विक, आठ वर्षीय मुकेश विक र तीन वर्षीय निशान विक रहेका छन् ।    
    
पहिरोले गोठ पुरिँदा निसीखोला गाउँपालिका–६ रङ्गिलमा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको थियो । बाढी तथा पहिरोका कारण गाउँपालिकामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । निसीखोला गाउँपालिका–४ कै चिनारेमा पहिरोका कारण १० घर विस्थापित भएका छन् । रासस   

 

प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  ०९:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update