- ६० प्रतिशत सङ्क्रामक रोग जुनोटिक रहेको दाबी ।
- नयाँ रोगमध्ये ७५ प्रतिशत पशुबाट सर्ने ।
- स्वच्छ मासुका लागि ऐन कार्यान्वयनमा जोड ।
चितवन । मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु रहेको पशु तथा मत्स्य विकास निर्देशनालय हेटौँडाले जनाएको छ । हरेक वर्ष मानिसमा देखिने पाँच नयाँ रोगमध्ये तीन वटा पशुबाट उत्पत्ति हुने गरेको निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा सन्तोष घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार मानिसमा लाग्ने सङ्क्रामक रोगमध्ये ६० प्रतिशत जुनोटिक छन् । नयाँ सङ्क्रामक रोगमध्ये ७५ प्रतिशत पशुबाट हुने गरेको जनाउँदै उहाँले पशुको मासु र दूधबाट रोग सर्न सक्ने भएकाले मासु परीक्षण अनिवार्य रहेको बताउनुभयो ।
पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ र नियमावली, २०५७ प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । “मानिसमा सर्ने रोग नियन्त्रणका लागि स्वच्छ मासु आवश्यक पर्छ,” उहाँले भन्नुभयो ।
चितवनमा दैनिक ८० देखि ९० हजार कुखुरा, ३५ वटा भैँसी, ४०० देखि ५०० बाख्रा र २५ वटा बङ्गुर वध हुने गरेको उहाँले जानकारी दिनुभयो । यसलाई व्यवस्थित गर्न आधुनिक वधशालाको आवश्यकता रहेको उहाँको भनाइ छ ।
भरतपुर महानगरपालिकाका पशु सेवा शाखाका डा रविन वस्ताकोटीका अनुसार महानगरमा ४०० भन्दा बढी वधस्थल रहे पनि ती व्यवस्थित र जनहितअनुकूल छैनन् । वधस्थललाई व्यवस्थित गर्दै स्वच्छ मासुको खपत बढाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
मासु पसलको सरसफाइमा मात्रै केन्द्रित नभई ऐन कार्यान्वयनसँगै कोल्डचेन तथा मासु भण्डारणको तापक्रममा समेत ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । नियमावलीले मासु बिक्री गर्दा छालारहित मासु मात्र बिक्री गर्नुपर्ने व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।
पशु सेवा कार्यालय चितवनका प्रमुख डा प्रभात न्यौपानेले ऐन कार्यान्वयनका लागि स्थानीय तह सक्रिय हुनुपर्ने बताउनुभयो । दसैँअघि नै ऐन कार्यान्वयनमा ल्याउने गरी काम अघि बढाउन स्थानीय तहलाई आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।
पशुको स्रोत र स्वास्थ्य अवस्था, वध, मासु ढुवानी तथा भण्डारण व्यवस्थित नहुँदा रोगको सङ्क्रमण फैलिन सक्ने उहाँले बताउनुभयो । जथाभावी पशु वध गर्ने, बिरामी वा मरेका पशुपन्छीको मासु बिक्री गर्ने, सडेगलेका मासु बिक्री गर्ने, मासुमा मिसावट गर्ने तथा छाला र हड्डीजस्ता उपपदार्थ जथाभावी फाल्ने गतिविधिले स्वच्छ मासुको उपलब्धतामा समस्या हुने उहाँको भनाइ छ ।
फ्रिजबाहिर लामो समयसम्म मासु राख्नेलगायतका गतिविधि नियन्त्रण गर्दै ऐन तथा नियमावली प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । रासस
