- नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना
- चाडपर्वमा यात्रुको सुरक्षामा विशेष ध्यान दिन आग्रह
- उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन
काठमाडौँ । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था विभाग, काठमाडौँ महानगरपालिका, यातायात व्यवसायी तथा मजदुरको संयुक्त आयोजनामा आज सहायता कक्ष स्थापना गरिएको हो ।
नवनिर्मित यात्रु सहायता कक्षको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले उद्घाटन गर्नुभयो । उहाँले चाडपर्वका समयमा यात्रुको सङ्ख्या बढ्ने भएकाले उनीहरूलाई सुरक्षित गन्तव्यमा पुर्याउनु सबैको दायित्व भएको बताउनुभयो ।
प्रहरी अतिरिक्त महानिरीक्षक राठौरले क्षणिक स्वार्थका लागि यात्रुलाई ठग्ने, लुट्ने वा झुक्याउनेलाई कारबाही हुने बताउँदै यात्रुलाई पनि सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले सवारी सञ्चालनका क्रममा मापसे र लापसे नगर्न तथा टिकट लिएर मात्र यात्रा गर्न आग्रह गर्नुभयो । टिकटमा हुने कालोबजारी नियन्त्रण गर्न प्रहरी चनाखो रहने उहाँले बताउनुभयो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले गत वर्षको तुलनामा यस वर्ष चाडपर्वका समयमा यातायात सञ्चालनमा केही समस्या रहेको बताउनुभयो । देशभर परेको अविरल वर्षाका कारण अधिकांश राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा सवारी सञ्चालनमा समस्या भएको उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष सिटौलाले कठिन परिस्थितिमा पनि सुरक्षित रूपमा सवारी सञ्चालन गरेकामा चालकलाई धन्यवाद दिँदै बिग्रिएका सडक चाँडो मर्मत गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले चाडपर्वमा कालो नम्बर प्लेटका सवारीसाधनलाई प्राथमिकता दिनुपर्ने र तोकिएकोभन्दा बढी भाडा लिन नहुने बताउनुभयो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले चाडपर्वका समयमा हुने दुर्घटना न्यूनीकरणका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो । चाडपर्वलाई लक्षित गरी उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका उपाध्यक्ष नवराज घिमिरेले चाडपर्वको समयमा हुने दुर्घटना रोक्न यातायात क्षेत्रका चालकको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो ।
कार्यक्रममा प्रहरी, यातायात व्यवसायी, लोत्से बहुउद्देश्यीय प्रालिका प्रतिनिधि, चालक, सहचालक तथा महानगर प्रहरीको उपस्थिति थियो । रासस
