- बेनी-जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका किसान चिन्तित ।
- ८० प्रतिशतभन्दा बढी स्याउ बजार पठाउन बाँकी ।
- सडक खुल्न एक साताभन्दा बढी लाग्ने ।
सुन्दर थकाली/मुस्ताङ । केही दिनअघिको भारी वर्षापछि आएको बाढी, पहिरो र नदी कटानका कारण बेनी-जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ उत्पादक किसान तथा व्यापारी चिन्तित भएका छन् ।
दसैँअघिको सोह्र श्राद्ध चलिरहेका बेला स्याउको खपत बढ्ने समयमै सडक अवरुद्ध हुँदा किसान र व्यापारी मर्कामा परेका हुन् । दसैँ-तिहारलगायतका चाडपर्व नजिकिँदै गर्दा म्याग्दी क्षेत्रमा सडक अवरुद्ध भएपछि त्यसको प्रत्यक्ष असर स्याउको ढुवानीमा परेको छ ।
अहिले मुस्ताङका बारी तथा बगानमा पाकेर लटरम्म स्याउ झुन्डिएका छन् । तर सडक अवरुद्ध भएपछि उत्पादित स्याउको बजारीकरणमा समस्या भएको छ ।
म्याग्दीको राहुघाट, बैसरी, सिरुवारी, भिरकाँटे, पोखरेबगर, नौनीबगर, तातोपानी र खामभित्ता लगायत दर्जनौँ स्थानमा बाढी र पहिरोले सडक संरचनामा क्षति पुर्याएपछि एक सातादेखि बेनी-जोमसोम सडक अवरुद्ध छ ।

जिल्लास्तरीय निर्णयअनुसार छिटो पाक्ने अर्ली प्रजातिका स्याउ भदौ १५ गतेदेखि र ढिलो पाक्ने प्रजातिका स्याउ भदौ २२ गतेदेखि टिप्न सुरु गर्ने समय निर्धारण गरिएको थियो । हरितालिका तीजअघि मुस्ताङबाट केही स्याउ बजार पठाइए पनि अझै ८० प्रतिशतभन्दा बढी स्याउको बजारीकरण हुन बाँकी रहेको किसान बताउँछन् ।
मुस्ताङमा वार्षिक औसत सात हजार मेट्रिकटन स्याउ उत्पादन हुँदै आएको छ । यहाँ परम्परागत लोकल स्याउसँगै उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड स्याउखेतीसमेत हुँदै आएको छ । स्याउ उत्पादनको प्रमुख क्षेत्रका रूपमा परिचित मुस्ताङमा यसपटक सडक अवरुद्ध भएपछि किसान र व्यापारी स्याउको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्तामा छन् ।
घरपझोङ गाउँपालिका-५ ढुम्बाका किसान कर्म गुरुङले सडक अवरुद्ध भएकाले उत्पादन भएको स्याउ बजार पठाउन नपाएको बताउनुभयो । सडक अवरुद्ध हुँदा इन्धन र विद्युत् आपूर्तिसमेत प्रभावित भएकाले टिपिएको स्याउ चिस्यान गृहमा राख्नसमेत समस्या भएको उहाँको भनाइ छ ।
करिब सात सय मेट्रिकटन स्याउ उत्पादन गर्दै आएको चिम्ले अर्चाड कृषि फार्मका सञ्चालक गुरुङले टिपिएको स्याउ कुहिने जोखिम रहेको बताउनुभयो । “अवरुद्ध सडकले किसानको मेहनत त्यसै खेर जाने जस्तो देखियो । बोटमा भएका स्याउ पनि पाकेर झर्ने बेला भइसक्यो । जतिसक्दो बाटो खुलाउन सके सबैभन्दा बढी राहत किसानलाई हुने थियो”, उहाँले भन्नुभयो ।
थासाङ गाउँपालिका-१ टुकुचेस्थित आइपिएम एप्पल फार्मका सञ्चालक नीरज तुलाचनले बेनी-जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा उत्पादित स्याउको व्यापारसमेत ठप्प भएको बताउनुभयो । तीजको समयमा करिब ५० प्रतिशत स्याउ बिक्री गरिसकेका तुलाचनले बाँकी स्याउ दसैँअघि बजार पठाउने तयारी गरिरहेका बेला सडक बन्द भएको बताउनुभयो ।
यसपटक उत्पादनका हिसाबले किसान र व्यापारी दुवै लाभान्वित हुने अवस्था रहे पनि ढुवानी रोकिँदा त्यसको असर दुवै पक्षलाई पर्ने उहाँको भनाइ छ ।
धादिङका स्याउ व्यापारी ऊर्जा तामाङ पनि तीन सातादेखि मुस्ताङमा हुनुहुन्छ । तीन दशकदेखि मुस्ताङको स्याउ व्यापार गर्दै आउनुभएका उहाँले यसपटक सडक अवरुद्धका कारण व्यापार प्रभावित हुने चिन्ता व्यक्त गर्नुभयो ।
घरपझोङ र बारागुङ मुक्तिक्षेत्रका आधा दर्जनभन्दा बढी बगैँचामा एक करोड रुपैयाँभन्दा बढी मूल्यको स्याउको ठेक्का लिनुभएका तामाङले मुस्ताङमा सङ्कलन गरिएको स्याउ एक सातादेखि बजार पठाउन नपाएर थन्किएको बताउनुभयो ।
मुस्ताङको स्याउका लागि जिल्ला बाहिरका ५० भन्दा बढी तथा स्थानीय २० भन्दा बढी व्यक्ति व्यापारमा संलग्न छन् । व्यापारीले भदौअघि नै बगैँचामा स्याउको मूल्याङ्कन गरी किसानलाई आंशिक पेश्की दिने र स्याउ सङ्कलन, ग्रेडिङ तथा प्याकेजिङ गरी बजार पठाउने अभ्यास छ । अहिले भने व्यापारी बाटो खुल्ने र स्याउ बजार पठाउन पाउने समयको पर्खाइमा छन् ।
सडक अवरुद्ध हुँदा स्याउको आन्तरिक बजारसमेत प्रभावित भएको छ । दसैँअघि हजारौँ पर्यटक मुस्ताङ आउने भएकाले स्थानीय किसानले स्याउ खरिद गरी पर्यटकलाई बिक्री गर्ने गतिविधिसमेत प्रभावित भएको छ । सडक अवरुद्धका कारण पर्यटकको आगमन घटेपछि स्याउको आन्तरिक बजारसमेत खस्किएको स्थानीय व्यापारीको भनाइ छ ।
कृषि तथा पशु विकास कार्यालय मुस्ताङका प्रमुख डा. लालमणि अर्यालले सडक अवरुद्ध भएकाले तत्काल स्याउ नटिप्न किसान तथा व्यापारीलाई सुझाव दिइएको बताउनुभयो । उहाँले सडक अवरुद्ध हुँदा सबैभन्दा बढी असर मुस्ताङका किसान र व्यापारीलाई परेको बताउनुभयो ।
बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले बाढी र पहिरोबाट धेरै स्थानमा क्षति भएकाले सडक सञ्चालनमा ल्याउन एक साताभन्दा बढी समय लाग्ने बताउनुभयो । सडक विभाग, सडक निर्देशनालय पोखराले सडक खुलाउन सबै संयन्त्र परिचालन गरेको उहाँले जानकारी दिनुभयो ।
सडक अवरुद्ध हुँदा चीनसँग सडक सम्पर्क जोड्ने महत्वपूर्ण कोरला नाकाबाट हुने आयात-निर्यातसँगै राज्यको राजस्व सङ्कलनसमेत प्रभावित भएको छ । रासस
