RayNewsDaily
बाढीमा जीवन खोज्ने नेपाली सेनाका जवान
  • भोटेकोशी बाढीपछि जोखिम मोलेर खोज तथा उद्धारमा सैनिक ।
  • अँध्यारा सुरुङदेखि बाढीको भेलसम्म जीवन खोज्दै टोली ।
  • चार हजार २४२ जनाको उद्धार, आठ हजारभन्दा बढी सैनिक परिचालन ।

प्रगति ढकाल/काठमाडौँ । ‘बाँचे देशकै सेवा गर्छु, मरे देशकै लागि मर्छु ।’

देशको सेवाका लागि नेपाली सेनामा भर्ती हुँदा लिएको यही शपथ अभिषेक शाहीले रसुवा भोटेकोशीको बाढीमा खोज तथा उद्धारमा खटिँदा पनि बिर्सनुभएन । बाढीको भेल, लेदो र गेग्रानको जोखिमबीच उहाँसहितको टोलीले जीवनको खोजीलाई निरन्तरता दियो ।

गत भदौ १० गते भोटेकोशी र त्यसपछि त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य उद्धार टोली प्रभावित क्षेत्रमा खटिएका छन् । बाढीमा हराएकाहरूको खोजी गर्दै सुरुङ, नदी किनार र प्रभावित बस्तीमा उद्धार कार्य जारी छ ।

बाढी आएको दिन चारैतिर पानी, लेदो र गेग्रान थियो । आफन्त हराएको भन्दै तत्काल खोजीका लागि आग्रह गर्नेहरूको सङ्ख्या बढिरहेको थियो । जोखिम पनि उत्तिकै थियो । तर अभिषेकसहितको टोली रोकिएन ।

“हामीलाई आफ्नो ज्यानको माया गरेर बसिरहने छुट थिएन । त्यसबेला सेकेन्ड–सेकेन्डको अत्यन्त महत्व थियो । केही सेकेन्डकै कारण कसैको ज्यान जोगिन्थ्यो त केही सेकेन्ड ढिला गरेकै कारण कसैको ज्यान जान सक्थ्यो,” अभिषेक सम्झनुहुन्छ ।

भोटेकोशीमा अर्को ताल बनेको र जुनसुकै बेला फुट्न सक्ने भन्दै पूर्वसूचना जारी भइरहेका बेला पनि उद्धार टोली जोखिमपूर्ण क्षेत्रमा पुगिरहेको थियो । मोबाइल नेटवर्कले काम नगरेका स्थानमा हाते रेडियोमार्फत जोखिमसम्बन्धी सूचना लिने र आवश्यक सावधानी अपनाउने गरिएको थियो ।

जलविद्युत् आयोजनाका सुरुङभित्र उद्धार अझ कठिन थियो । लेदो र गेग्रानले बाटो पुरिएको तथा पानीको सतह घटिनसकेका कारण तत्काल प्रवेश गर्न सम्भव थिएन । तीन दिनसम्म पानी निकाल्ने र बाटो खुलाउने काम गरेपछि कतिपय सुरुङमा प्रवेश गरी खोजी गर्न सम्भव भएको अभिषेक बताउनुहुन्छ ।

सुरुङभित्र हराएकाको खोजीमा खटिएका अर्का जवान दीपक राईका लागि पनि त्यो समय सहज थिएन । अँध्यारो सुरुङमा टर्चलाइटको सहारामा जीवित मानिसको खोजीसँगै मृतकको शव निकाल्नुपर्ने अवस्था थियो ।

कतिपय शव कुहिएको अवस्थामा भेटिन्थे । दुर्गन्धका कारण वाकवाकी लाग्ने र खानासमेत खान नसक्ने अवस्था हुन्थ्यो । तर आफन्तजनको पीडा बुझेर टोलीले आफ्ना कठिनाइलाई सामान्य रूपमा लिँदै खोजी जारी राखेको राई बताउनुहुन्छ ।

तालिम र अभ्यासले दिएको साहस

विपद्सम्बन्धी तालिम र अभ्यासले कठिन परिस्थितिमा जिम्मेवारी पूरा गर्न सहज बनाएको राई बताउनुहुन्छ ।

“विपद्मा काम गर्न आवश्यक तालिम र अभ्यासले कठिन परिस्थितिमा पनि आफ्नो जिम्मेवारी बहन गर्न सिकाउने रहेछ । तालिमले सीप दिएको थियो । पर्याप्त उपकरणले साथ दिएको थियो,” उहाँ भन्नुहुन्छ ।

उद्धारमा खटिएका प्रमोद केसीका लागि पनि बाढीपछिका सुरुआती चार दिन सबैभन्दा चुनौतीपूर्ण बने । कतिपय सुरुङमा सात फिटसम्म लेदो जमेको थियो । सडक र पुल बगेका कारण पैदल हिँड्नसमेत कठिन थियो । त्यही अवस्थामा हराएकाको खोजी र घाइतेको उद्धार गर्नुपरेको उहाँ बताउनुहुन्छ ।

अभिषेक, दीपक र प्रमोदजस्तै नेपाली सेनाका सुजित जोशी, ज्ञानेन्द्र डाँगी, महेश कार्की, सुरेन्द्रकुमार रोकाय, इन्द्रबहादुर गुरुङ, दिनेश तामाङ र नारायण शर्मा पनि खोजी तथा उद्धारमा खटिनुभएको छ ।

उद्धार गर्न सफल भएको क्षण टोलीका लागि खुसीको विषय बन्थ्यो । तर लामो प्रयासपछि पनि जीवन बचाउन नसकेको क्षणले उनीहरूको मन भारी बनाउँथ्यो ।

जीवन खोज्दै सुरुङभित्र

भोटेकोशी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र हराएकाको खोजी तथा उद्धार नेपाली सेनाका लागि अर्को चुनौती बन्यो ।

नेपाली सेनाका सहायक रथी सुवासजङ्ग थापाका अनुसार सुरुङभित्र खटिएका केही उद्धारकर्मीलाई ज्वरो आउने, छाला चिलाउने र वान्ता हुनेलगायत स्वास्थ्य समस्या देखिए पनि उनीहरूले खोजी कार्यलाई निरन्तरता दिए ।

लाङटाङ जलविद्युत् आयोजनामा भदौ १० गते नै हेलिकप्टरबाट रेकी गरिएको थियो । भदौ १३ गतेदेखि भारतीय विज्ञ टोलीसँगको सहकार्यमा सुरुङभित्र खोज तथा उद्धार सुरु गरिएको थापाले जानकारी दिनुभयो ।

चिलिमे जलविद्युत् आयोजनामा पनि भदौ १० गते रेकी गरी भदौ १४ गतेदेखि भारतीय विज्ञ टोलीको सहभागितामा खोजी सुरु गरिएको थियो । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा चिनियाँ विज्ञ टोलीको सहभागितामा भदौ १४ गतेदेखि खोजी सुरु भएको थियो । ११औँ दिनको प्रयासपछि एक चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको थापाले बताउनुभयो ।

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा बाढी आएको १०औँ दिनमा दुई कर्मचारीको जीवितै उद्धार गरिएको थियो । लामो प्रयासपछि उनीहरूलाई जीवितै बाहिर निकाल्न सकिएको क्षण उद्धार टोलीका लागि निकै खुसीको रहेको थापाले बताउनुभयो ।

भोटेकोशी बाढीपछि नेपाली सेनाले रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा पैदल गस्तीमार्फत खोज तथा उद्धारलाई निरन्तरता दिएको छ । त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान र मान्चेतलगायत क्षेत्रमा आधार बनाएर टोली परिचालन गरिएको थापाले जानकारी दिनुभयो ।

सडक सम्पर्क टुटेका दुर्गम क्षेत्रमा भने ड्रोनमार्फत खोजी तथा राहत सामग्री पुर्‍याउने काम गरिएको छ ।

नेपाली सेनाका अनुसार हवाई साधनमार्फत प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म चार हजार २४२ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये तीन हजार ९५९ नेपाली र २८३ विदेशी नागरिक छन् ।

भोटेकोशीको बाढीले रसुवादेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमसम्म प्रभाव पारेपछि नेपाली सेनाका आठ हजार २०० भन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन भएका छन् ।

बाढीमा हराएकाहरूको खोजीमा खटिएका यी जवानका लागि विपद्को मैदान पनि देश सेवाकै अर्को मोर्चा बनेको छ । जोखिमबीच पनि उनीहरूको खोजी निरन्तर छ - कतै जीवन भेटिन्छ कि, कतै हराएका प्रियजनको खबर दिन सकिन्छ कि भन्ने आशासहित । रासस

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३  १५:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update