RayNewsDaily
जर्मनीबाट ८ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज फिर्ता
  • १३औँदेखि २०औँ शताब्दीसम्मका महत्त्वपूर्ण दस्तावेज नेपाल ल्याइयो ।
  • ४६५ मल्लकालीन ताडपत्र र ३१२ राजकीय कागजात ।
  • राष्ट्रिय अभिलेखालयलाई ऐतिहासिक दस्तावेज हस्तान्तरण ।

काठमाडौँ । जर्मन नागरिक जोसेफ पिटर रिन्डफ्लाइसको निजी सङ्ग्रहमा रहेका १३औँदेखि २०औँ शताब्दीसम्मका आठ सयभन्दा बढी महत्त्वपूर्ण नेपाली ऐतिहासिक दस्तावेज राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय अभिलेखालयमा आज आयोजित कार्यक्रममा हाइडेलबर्ग विश्वविद्यालयअन्तर्गत हाइडेलबर्ग एकेडेमी अफ साइन्सेस एन्ड ह्युमानिटिजका प्राध्यापक डा. एक्सेल माइकल्स, डा. मनिक बज्राचार्य र राजन खतिवडाले संयुक्त रूपमा ती दस्तावेज परराष्ट्रमन्त्री शिशिर खनाललाई हस्तान्तरण गर्नुभएको हो ।

जोसेफ पिटर रिन्डफ्लाइसका छोरा वाल्टर रिन्डफ्लाइसले आफ्ना पिताको सङ्ग्रहमा रहेका दस्तावेज नेपाल फिर्ता गराउने उद्देश्यले प्राध्यापक माइकल्सलाई हस्तान्तरण गर्नुभएको थियो । हाइडेलबर्ग विश्वविद्यालयको संरक्षण तथा सूचीकरणपछि नेपाल सरकारको समन्वयमा ती सामग्री नेपाल ल्याइएको हो ।

जर्मनीका लागि नेपाली राजदूतावास, हाइडेलबर्ग विश्वविद्यालय, हाइडेलबर्ग एकेडेमी अफ साइन्सेस एन्ड ह्युमानिटिज, सराफ फाउन्डेसन र राष्ट्रिय अभिलेखालयको सहकार्यमा दस्तावेज फिर्ता ल्याइएको हो ।

परराष्ट्रमन्त्री खनालले दस्तावेजको स्वदेश फिर्तीले नेपालको सांस्कृतिक सम्पदामाथिको स्वामित्व पुनःस्थापित भएको बताउनुभयो । उहाँले दस्तावेज फिर्ता गराउन सहयोग गर्ने रिन्डफ्लाइस परिवार, प्राध्यापक माइकल्स र अनुसन्धान टोलीप्रति आभार व्यक्त गर्नुभयो ।

उहाँका अनुसार सङ्ग्रहमा प्राचीन ताडपत्र, राजकीय सनद, अदालतका आदेश, संस्कृतका ग्रन्थ तथा ऐतिहासिक यात्रा विवरण छन् । यी सामग्रीले नेपालको राजनीतिक, कानुनी तथा बौद्धिक विकासक्रम बुझ्न महत्त्वपूर्ण आधार दिने उहाँले बताउनुभयो ।

सङ्ग्रहमा ४६५ मल्लकालीन ताडपत्र तथा लालमोहर, ३१२ शाह र राणाकालीन कानुनी सनद तथा राजकीय कागजात, १८ राणा प्रधानमन्त्री कार्यालयका हस्तलिखित ग्रन्थ तथा यात्रा डायरी र ११ अन्य हस्तलिखित ग्रन्थ छन् ।

नेपाल र जर्मनी सन् १९७० को युनेस्को सांस्कृतिक सम्पत्तिको अवैध आयात, निर्यात तथा स्वामित्व हस्तान्तरण रोकथामसम्बन्धी महासन्धिका पक्ष राष्ट्र हुन् । मन्त्री खनालले दस्तावेज हस्तान्तरणले उक्त महासन्धिप्रतिको साझा प्रतिबद्धता देखाएको बताउनुभयो । रासस

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३  १४:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update