RayNewsDaily
गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा

भोजपुर । पछिल्लो समय भोजपुरमा युवा गाउँमै रहेर विभिन्न उद्यम तथा व्यवसायमा जोडिने क्रम बढेको छ । विदेशबाट फर्किएका तथा गाउँमै रहेका युवाले कृषि तथा पशुपालनलाई व्यवसायका रूपमा अघि बढाएका छन् ।    
    
उनीहरू व्यावसायिक रूपमा अलैँची, किवी, एभोकाडो, ओखर, चिराइतोखेती तथा बाख्रापालनमा जुटेका छन् । गाउँमै मिहिनेत गरेर कृषि तथा पशुपालनबाट आम्दानी गर्न सकिने भएपछि स्थानीय युवा त्यसतर्फ आकर्षित भएका हुन् । विदेशबाट फर्किएका केही युवाले विदेशमा सिकेको सीप र अनुभवलाई प्रयोग गर्दै व्यवसाय सञ्चालन गरेका छन् । उनीहरूले कृषि तथा पशुपालनलाई आत्मनिर्भर बन्ने माध्यम बनाएका छन् ।    
    
टेम्केमैयुङ गाउँपालिका–५ चोलन्तीका युवा पुस्कर विष्ट विदेशबाट फर्किएपछि गाउँमै व्यावसायिक बाख्रापालनमा लाग्नुभएको छ । उहाँले सञ्चालन गर्दै आउनुभएको ‘पुस्कर कृषि तथा पशुपालन फार्म’मा बोयर र स्थानीय जातका बाख्रा पालिएको छ । छ वर्षअघिदेखि व्यावसायिक रूपमा बाख्रापालन गर्दै आउनुभएका विष्टले विदेशमा भन्दा राम्रो आम्दानी भएको बताउनुभयो ।    
    
“विदेश जानुभन्दा आफ्नै ठाउँमा व्यवसाय गर्नसके राम्रो आम्दानी हुने रहेछ”, उहाँले भन्नुभयो । अर्का युवा भीमराज विष्ट मलेसियाबाट फर्किएर गाउँमै कृषि व्यवसायमा सक्रिय हुनुभएको छ । उहाँले भोजपुर नगरपालिका–६ मा बाख्रापालनसँगै सुन्तला, कागतीखेती गरिहनुभएको छ । गाउँमै व्यवसाय सञ्चालन गरेर उदाहरणीय बन्न सकिने उहाँको भनाइ छ ।    
    
अर्का युवा लाल विष्टले पनि व्यावसायिक रूपमा अलैँचीखेती गर्दै आउनुभएको छ । पछिल्लो समय अलैँचीको मूल्यमा सुधार आएपछि स्थानीय युवा व्यावसायिक खेतीतर्फ आकर्षित भएको उहाँले बताउनुभयो । नयाँ तथा पुरानो बगान गरी करिब ४० रोपनीमा अलैँचीखेती गर्दै आएको उहाँले जानकारी दिनुभयो ।    
    
“व्यावसायिक रूपमा काम गर्दा यहीँ नै राम्रो आम्दानी गर्न सकिने रहेछ”, उहाँले भन्नुभयो, “मिहिनेत गर्न सकियो भने परिवारसँग बसेर वार्षिक रु चार–पाँच लाख कमाउन समस्या छैन । गाउँका धेरै युवा विदेशबाट फर्केर उद्यममा जोडिएको अवस्था छ ।”    
    
कृषि तथा पशुपालनका क्षेत्रमा युवाको सक्रियता बढेसँगै स्थानीयस्तरमा रोजगारी सृजना हुनुका साथै उत्पादन र आम्दानी बढ्न थालेको उहाँको भनाइ छ । विदेशबाट फर्किएका युवाहरूले आफ्नै जमिन, स्थानीय स्रोतसाधन र सीपको प्रयोग गरेर व्यवसाय सञ्चालन गर्न थालेपछि गाउँको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्न थालेको छ । रासस   

 

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३  ०९:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update