RayNewsDaily
मर्स्याङ्दी नदी थुनिएपछि खोल्ने काम सुरु, विस्फोटको तयारी
  • लेदोसहितका ढुङ्गाले थुनिएको मर्स्याङ्दी नदी खोल्न थालियो ।

  • एक्साभेटरबाट नदीको बहाव खुलाउने काम सुरु ।

  • ठूला चट्टान फुटाउन विस्फोटको तयारी ।

मनाङ । अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितका ढुङ्गा, गिट्टी र बालुवाले थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु गरिएको छ ।

नदी थुनिएर बनेको ताल खुलाउन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार नदीको धार परिवर्तन गरी पानी आंशिक रूपमा बगिरहेको छ ।

“यहाँ उपलब्ध एक्साभेटरलगायतका सामग्री प्रयोग गरी केही मात्रामा काम सुरु भएको छ । ठूला चट्टान फुटाउनुपर्ने देखिएको छ । यसका लागि तयारी पनि भइरहेको छ”, उहाँले भन्नुभयो ।

नदीले पुलमाथिबाटै धार परिवर्तन गरेकाले आसपासका केही घर डुबानमा परेको उहाँले बताउनुभयो ।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले स्थानीयस्तरमा उपलब्ध स्रोतसाधन प्रयोग गरी नदी खुलाउन सकिए स्थानीयवासीलाई छिट्टै घर फर्काउन सकिने बताउनुभयो ।

“विस्फोट गराएर चट्टान फुटाउँदा मर्स्याङ्दीको तटीय क्षेत्रमा बढ्न सक्ने जोखिमलाई ध्यान दिन आवश्यक छ”, उहाँले भन्नुभयो, “एक्साभेटरबाट अड्किएका ढुङ्गा केही हटाउन सकिए तटीय क्षेत्रमा हुने क्षति कम गर्न सकिन्छ ।”

लमजुङ हिमालको शिरमा रहेको घट्टेखोलामा लेदोसहितका ठूला ढुङ्गा खसेपछि मस्र्याङ्दी नदी थुनिएको हो । वरपरका क्षेत्रमा क्षति नहुने गरी विस्फोट गराएर नदीको बहावलाई पुरानै अवस्थामा फर्काउने विषयमा अध्ययन भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

नदी खुलाउन सकिए स्थानीयवासीमा रहेको त्रास कम हुनुका साथै जनजीवन सामान्य बनाउन सहज हुने उहाँको भनाइ छ ।

बाढी र पहिरोका कारण त्यस क्षेत्रमा विद्युत् आपूर्ति, खानेपानी र टेलिफोन सेवा प्रभावित भएका छन् भने इन्टरनेट पहुँचसमेत अवरुद्ध भएको छ । सडक सञ्जाल पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

ङिस्याङ गाउँपालिका-४, हुम्डेमा बाढी र पहिरोका कारण आसपासका बस्तीका घरमा पानी र हिलो पसेको छ । सब्जे खोलाबाट निकालिएको लघुजलविद्युत् आयोजनाको विद्युत्गृहमा क्षति पुगेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

यसअघि २०७८ सालमा पनि घट्टेखोला, ठाडोखोला र मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङमा ठूलो भौतिक क्षति पुर्‍याएको थियो । रासस

प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update