RayNewsDaily
मधेसमा स्वास्थ्य, शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि प्रतिष्ठान आवश्यक
  • मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि प्रतिष्ठान आवश्यक ।
  • रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक अघि बढाइँदै ।
  • चिकित्सा शिक्षामा समावेशी पहुँच र प्रादेशिक सन्तुलनमा जोड ।

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मधेस प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा विस्तार, दक्ष जनशक्ति उत्पादन तथा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान आवश्यक रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभामा ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक, २०८३’ माथि उठेका प्रश्नको जवाफ दिँदै उहाँले संविधानले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी हकलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न छुट्टै विधेयक ल्याइएको बताउनुभयो ।

मन्त्री मेहताले संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक सुनिश्चित गरेको तथा आकस्मिक स्वास्थ्य सेवाबाट कसैलाई वञ्चित गर्न नहुने व्यवस्था गरेको उल्लेख गर्नुभयो । संविधानको धारा ५१ ले जनस्वास्थ्यमा लगानी वृद्धि, गुणस्तरीय स्वास्थ्य सेवामा सहज र समान पहुँच तथा स्वास्थ्य अनुसन्धानमा जोड दिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार अन्य प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भई सञ्चालनमा रहे पनि मधेस प्रदेशमा हालसम्म त्यस्तो प्रतिष्ठान स्थापना तथा सञ्चालन हुन सकेको छैन । प्रादेशिक सन्तुलन कायम गर्दै मधेसका नागरिकलाई आफ्नै प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिष्ठान आवश्यक रहेको उहाँले बताउनुभयो ।

प्रतिष्ठान स्थापनाका लागि रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति (गठन) आदेश, २०८० जारी भई पूर्वाधार निर्माण तथा तयारीका काम अघि बढिरहेको उहाँले जानकारी दिनुभयो । समितिको पहिलो बैठक २०८१ वैशाख २ गते बसेकाले प्रतिष्ठानसम्बन्धी कानुनी व्यवस्था यथाशीघ्र तयार गर्नुपर्ने उहाँको भनाइ थियो ।

मन्त्री मेहताले चिकित्सा शिक्षामा समानुपातिक तथा समावेशी सहभागिता सुनिश्चित गर्न सर्वोच्च अदालतबाट भएका महत्वपूर्ण फैसलालाई समेत स्मरण गर्नुभयो । प्रस्तुत विधेयकले चिकित्सा शिक्षा क्षेत्रमा समावेशी पहुँच विस्तार गर्नुका साथै सञ्चालनमा रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी कानुनी व्यवस्थामा एकरूपता कायम गर्न आधार तयार गर्ने उहाँले बताउनुभयो ।

सरकारले चिकित्सा शिक्षासम्बन्धी विभिन्न प्रतिष्ठानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न भविष्यमा एकीकृत छाता ऐनमार्फत व्यवस्थित गर्ने नीति लिएको उहाँले जानकारी दिनुभयो । उक्त व्यवस्था कार्यान्वयनमा नआएसम्म रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छुट्टै ऐनमार्फत स्थापना गरी संस्थागत आधार तयार गर्न आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो ।

“यस विधेयकलाई अझ प्रभावकारी, व्यवहारिक र जनमुखी बनाउन माननीय सदस्यज्यूहरूबाट प्राप्त हुने सुझाव र रचनात्मक योगदानलाई मन्त्रालयले उच्च सम्मानका साथ ग्रहण गर्नेछ,” उहाँले भन्नुभयो ।

प्रतिनिधिसभामा दर्ता भएको विधेयकको दफावार छलफलका क्रममा सदस्यहरूले दिएका सुझाव र मार्गदर्शनलाई सकारात्मक रूपमा ग्रहण गर्ने प्रतिबद्धता पनि मन्त्री मेहताले व्यक्त गर्नुभयो ।

सो विधेयकसम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । प्रतिनिधिसभाको अर्को बैठक १५ मिनेटपछि बस्नेछ । रासस

प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update