RayNewsDaily
विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ   

चितवन । राजनीतिक दलका महाधिवेशन, विभिन्न संघ सस्थाका साधारणसभाजस्ता कार्यक्रममा भोजनको व्यवस्था गर्नुपर्ने काम अत्यन्त चुनौती मानिन्छ । यही चुनौतीलाई अगाल्ने मध्येका एक व्यक्ति जनप्रकाश चापागाई हुनुहुन्छ । पछिल्ला समय दुई ठूला राजनीतिक दलका चार राष्ट्रिय कार्यक्रममा भोजनको जिम्मेवारी सम्हालेपछि उहाँ भोजन व्यवस्थापनका लागि अब्बल बन्नुभएको छ ।    
    
बेलायतबाट सेवा क्षेत्रमा अनुभव हासिल गरेर स्वदेश फर्किएपछि उहाँले काठमाडौँ, बुटवल र भरतपुरमा होटल र पार्टी प्यालेस सञ्चालन गर्न सुरुआत गर्नुभयो काठमाडौँमा अनुपम फुडल्याण्ड, दियालो फुडल्याण्ड, गोधुली रेष्टुरेण्टका सञ्चालक चापागाईसहितको समूह छ । उहाँले नेपाली कांग्रेसका दुई महाधिवेशन, एक महासमिति बैठक र यसै वर्ष चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी नेता कार्यकर्तालाई भोजनको व्यवस्थापन गर्नुभएको छ ।    
    
चितवनको शिवनगरमा २०२४ सालमा जन्मिनुभएका उद्योगी चापागाई चितवनको बालकुमारी क्याम्पसमा उच्च शिक्षा हासिल गरी काठमाडौँ पुग्नुभयो । काठमाडौँमा रहेर चार वर्ष सरकारी सेवामा काम गरेपछि उहाँ २०५३ सालमा बेलायत पुग्नुभयो । बेलायतमा रहँदा उहाँ क्याटरिङ तथा होटल व्यवसायमा संलग्न हुनुभयो । त्यहाँको कामका क्रममा भोजन व्यवस्थापन, धेरै सङ्ख्यामा ग्राहकलाई सेवा दिने प्रणाली र क्याटरिङ व्यवसायका विभिन्न पक्षबारे अनुभव हासिल गरेको उहाँले सुनाउनुभयो ।    
    
करिब नौ वर्ष बेलायत बसेपछि २०६२ सालतिर नेपाल फर्किनुभएका उहाँ यहाँ आएपछि व्यवसायमा निरन्तर जारी छ । सुरुमा अस्पताल र घरजग्गामा लगानी गर्नुभएका उहाँले आफूले जानेको सीपलाई उपयोग गर्दै बिदेशबाट फर्किएका पाँच साथीलाई साथमा लिएर पार्टीप्यालेस सञ्चालन गर्नुभयो । उहाँले भन्नुभयो “काठमाडौँमा पहिलो दियालो फुडल्याण्ड, यसपछि अनुपम फुडल्याण्ड सञ्चालनमा ल्याए ।”    
    
यी दुवैमा राम्रो सफलता पाएपछि उहाँले बुटवलमा दुई र भरतपुरमा एउटा दियालो फुडल्याण्ड सञ्चालन गर्नुभएको छ । काठमाडौँको बालाजुमा अर्काे दियालो फुडल्याण्ड र सामाखुशीमा उहाँकै समूहको गोधुली फुडल्याण्ड सञ्चालनमा छ ।    
    
फरक फरक ठाउँमा स्थानीयसमेतलाई ३० प्रतिशत साझेदार बनाएर उहाँले व्यवसाय विस्तार गर्नुभएको हो । यससँगै उहाँले आफ्नो अनुभवलाई ठूला कार्यक्रममा केन्द्रित गर्नुभएको छ । एउटै कार्यक्रममा एक छाकमा पाँच हजारलाई खाना खुवाइसक्नुभएका चापागाई १० हजार जनासम्मलाई भोजनको व्यवस्थापन सकिने बताउनुहुन्छ ।    
    
आफूले अनुपम फुडल्याण्डमा दैनिक तीन हजार पाँच सयसम्मलाई भोजनको व्यवस्थापन गर्न सकिने जनाउँदै उहाँले आफ्नै अन्य पार्टी प्यालेसका सामग्री र जनशक्ति प्रयोग गरेर सहजै भोजन खुवाउन सकिने बताउनुभयो ।    
    
उहाँका अनुसार १० हजार जनाका लागि भोजनको व्यवस्थापन गर्न असाधारण किसिमको पूर्वाधार आवश्यक पर्दैन । भान्सा व्यवस्थापनलाई विस्तार गर्दै जनशक्ति, खाद्य सामग्री र भाँडाकुँडाको पर्याप्त व्यवस्था गर्न सकिएमा ठूलो सङ्ख्यामा भोजन व्यवस्थापन सकिने उहाँको भनाइ छ ।        
उहाँका अनुसार कार्यक्रममा अपेक्षा गरिएको भन्दा धेरै मानिस सहभागी हुँदा भोजन व्यवस्थापनमा सबैभन्दा बढी दबाब पर्ने उहाँको अनुभव छ । उहाँले भन्नुभयो, “ मानिस बढेपछि समस्या हुन्छ । एकीन मानिस आउँछन् भनेर तयारी गरिएको हुन्छ, तर त्यसमा थप मानिस आएपछि समस्या हुन्छ ।” उहाँले आफ्नो अनुभव सुनाउनुभयो, “छिटो ट्याकल गरेर समाधान गर्नुपर्छ । त्यसका लागि हामीले ब्याकअपको तयारी गरेका हुन्छौँ ।”    

 

प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update