- २४ घण्टामा २७२ विपद्का घटना, २१ जनाको मृत्यु ।
- पहिरोका ९७ घटनामा २१ जनाको मृत्यु, चार बेपत्ता ।
- बाढी र वर्षाबाट एक हजार ११५ जनाको उद्धार ।
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २७२ वटा विपद्का घटना हुँदा २१ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार असोज ११ गते बिहान १० बजेदेखि असोज १२ गते बिहान १० बजेसम्म भएका विपद्का घटनामा चार जना बेपत्ता र २६ जना घाइते भएका छन् ।
प्राधिकरणका अनुसार सो अवधिमा सबैभन्दा बढी पहिरोका ९७ घटना भएका छन् । पहिरोमा परी २१ जनाको मृत्यु, चार जना बेपत्ता र चार जना घाइते भएका छन् ।
त्यसैगरी अविरल वर्षाका ८०, बाढीका ५७, सर्पदंशका १७, आगलागीका आठ, हावाहुरीका आठ, जनावर आक्रमणका चार र हिमपातको एउटा घटना भएका छन् ।
बाढीका घटनामा मानवीय क्षति नभए पनि ४१५ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । अविरल वर्षाका घटनामा ७०० जनाको उद्धार गरिएको छ ।
विपद्का कारण ४८ सडकखण्ड अवरुद्ध भएका छन् भने १२१ चौपायाको क्षति भएको छ । घटनाबाट अनुमानित एक करोड ९१ लाख ६६ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा भएका विपद्मध्ये पहिरो, बाढी र अविरल वर्षाका घटना प्रमुख रहेका छन् । यस अवधिमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायबाट उद्धार तथा खोजी कार्य जारी रहेको छ ।
