- करेन्ट लागेर मृत्यु भएकी देवी उप्रेतीको परिवारलाई १० लाख ।
- स्टे वायरमा प्रवाह भएको करेन्ट लाग्दा साउन ७ गते मृत्यु ।
- प्राधिकरणले प्रशासनको रोहबरमा क्षतिपूर्ति रकम हस्तान्तरण ।
बनेपा (काभ्रे) । विद्युत्को करेन्ट लागेर ज्यान गुमाएकी काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-७ फलाँटेकी ४५ वर्षीया देवी उप्रेतीको परिवारलाई नेपाल विद्युत् प्राधिकरणले रु १० लाख क्षतिपूर्ति उपलब्ध गराएको छ ।
भुम्लु गाउँपालिका-८ डाँडाथोक तल्लोटारमा गत साउन ७ गते विद्युत् पोल अड्याउन राखिएको स्टे वायरमा प्रवाह भएको करेन्ट लागेर उहाँको घटनास्थलमै मृत्यु भएको थियो । स्थानीय बजारमा दूध पुर्याउन जाने क्रममा करेन्ट प्रवाह भएको तारको सम्पर्कमा पुग्दा उहाँको मृत्यु भएको हो ।
घटनापछि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, नेपाल विद्युत् प्राधिकरण र पीडित परिवारबीच रु १० लाख क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको थियो । सोहीअनुसार आज रकम उपलब्ध गराइएको हो ।
प्राधिकरणको पाँचखाल वितरण केन्द्रका प्रमुख दीपक सापकोटाका अनुसार प्रशासनको रोहबरमा पीडित परिवारलाई क्षतिपूर्तिबापत रु १० लाखको चेक हस्तान्तरण गरिएको छ । रासस
