- अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रधानमन्त्री शाहको आग्रह ।
- विपद्मा २१ जनाको मृत्यु, पाँच जना बेपत्ता ।
- बाढीपहिरोबाट सडक, पुल र विद्युत् पूर्वाधारमा क्षति ।
रे समाचार/काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशका विभिन्न स्थानमा वर्षा, बाढी, पहिरो तथा डुबानका कारण जोखिम बढेकाले उच्च सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जालमार्फत विपद्मा परी ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । उहाँले विपद्मा परी घाइते पाँच जनाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाइएको जानकारी दिनुभएको छ ।
उहाँका अनुसार असोज ८ गतेदेखि केहीबेर अघिसम्म चट्याङ, बाढी, पहिरो, हावाहुरी र अविरल वर्षाका कारण म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर र सुर्खेतलगायत जिल्लामा २१ जनाको मृत्यु भएको छ । यसैगरी पाँच जना बेपत्ता रहेको विवरण प्राप्त भएको उहाँले बताउनुभएको छ ।
प्रधानमन्त्री शाहले नदी तटीय तथा पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । उहाँले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र कुनै सङ्कट परे शुल्क नलाग्ने १२३४ नम्बरमा सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।
उहाँले विपद्को समयमा भ्रामक सूचना फैलाउने, पीडितको गोपनीयता भङ्ग गर्ने तथा कालोबजारी गर्नेहरूमाथि सरकारले कडा निगरानी राखिरहेको बताउनुभएको छ । सङ्कटका बेला भ्रामक प्रचार गरी पीडितलाई थप पीडा दिने कार्य अस्वीकार्य रहेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री शाहका अनुसार नेपाल मौसम विज्ञान विभागलगायत निकायले असोज ९ देखि १२ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हावाहुरी हुनसक्ने पूर्वानुमान गरेपछि सरकारले पूर्वसावधानी अपनाउन सार्वजनिक अपिल गरेको थियो । सम्भावित विपद् व्यवस्थापनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट कमान्ड पोष्टको बैठक गरी निरन्तर सूचना सम्प्रेषण, रात्रिकालीन यातायात तथा विद्यालय बन्दलगायत निर्णय गरिएको र ७७ वटै जिल्ला कमान्ड पोष्ट सक्रिय बनाइएको उहाँले जानकारी दिनुभएको छ ।
अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो, हावाहुरी, डुबान र चट्याङका घटना भइरहेका छन् । प्रधानमन्त्रीका अनुसार बाढी, पहिरो, डुबान तथा चट्याङका कारण देशभर ४३९ वटा मनसुनजन्य घटना भएका छन् । गाउँसँगै सहरसमेत डुबानमा परेका छन् भने सडक, पुल, जलविद्युत् आयोजना र खानेपानी प्रणालीलगायत पूर्वाधारमा क्षति पुगेको छ ।
उहाँले बेपत्ता नागरिकको खोजी तथा बाढीमा फसेका मानिस र पशुचौपायाको उद्धारमा सुरक्षाकर्मी अहोरात्र खटिरहेको बताउनुभएको छ । बाढीपहिरो प्रभावित परिवारका लागि स्थानीय तहसँगको समन्वयमा अस्थायी बसोबासको प्रबन्ध मिलाइएको तथा नागरिकलाई सुरक्षित रहन विभिन्न माध्यमबाट सूचना सम्प्रेषण भइरहेको उहाँले जानकारी दिनुभएको छ ।
बाढीका कारण नारायणी नदीमा क्रुजसिप बगेर पुलमा अड्किएपछि सावधानीका लागि पूर्व-पश्चिम राजमार्ग बन्द गरिएको छ । बाढी र पहिरोका कारण काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बिपी राजमार्ग र कान्ति लोकमार्गसहित विभिन्न जिल्लाका दर्जनौँ सडक प्रभावित भएका छन् ।
भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रका सडकमा पुनः क्षति पुगेको तथा कालीगण्डकीको पक्की पुलसमेत बगेको प्रधानमन्त्री शाहले बताउनुभएको छ । क्षतिग्रस्त सडक द्रुत गतिमा मर्मत गरी यातायात पुनःसञ्चालन गर्न सरकार प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभएको छ ।
बाढीका कारण कालीगण्डकी करिडोर, मर्स्याङ्दी र सेती-मादी करिडोरलगायतबाट राष्ट्रिय प्रसारण लाइनमा १,०१३.२ मेगावाट विद्युत् आपूर्ति बन्द भएको छ । त्यसमध्ये ३१८ मेगावाट क्षमताका जलविद्युत् आयोजना प्रसारण लाइनका टावर ढलेका कारण पूर्ण रूपमा बन्द भएका छन् ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षात्मक उपायस्वरूप ६९५.२ मेगावाट उत्पादन क्षमताका आयोजनाको उत्पादनसमेत बन्द गरिएको प्रधानमन्त्री शाहले जानकारी दिनुभएको छ । विद्युत् आपूर्ति यथाशीघ्र पुनःस्थापना गर्न प्राविधिक टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको उहाँले बताउनुभएको छ ।
ठूला नदीमा पानीको बहाव बढेपछि केही स्थानमा आवागमनसमेत रोकिएको छ । महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकीबाट हुने नेपाल-भारत आवागमन प्रभावित भएको छ । नागरिकको सुरक्षालाई ध्यानमा राखी पुलको दुवैतर्फ सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
सेती, नारायणी र कमला नदीमा पनि पानीको सतह बढेकाले उच्च सतर्कता अपनाइएको छ भने कुलेखानी क्षेत्रमा यातायात रोकिएको छ । हुरीसहितको वर्षाले धान, तरकारीलगायत कृषि बालीमा समेत ठूलो क्षति पुगेको प्रधानमन्त्री शाहले बताउनुभएको छ ।
