- सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो ।
- बाढी बढेपछि ८०० भन्दा बढी नागरिक सुरक्षित स्थानमा ।
- गण्डक ब्यारेजमा चार लाख ७९ हजार १०० क्यूसेक पानी ।
नवलपरासी (बर्दघाट-सुस्ता-पश्चिम) । अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढी सुस्तामा पसेपछि त्यहाँका सबै नागरिकलाई नारायणीवारि ल्याइएको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ मा शुक्रबारदेखि बाढी पसेको हो ।
जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार सुस्ताको थारु, वडाका टोललगायत क्षेत्रमा बाढी पसेपछि स्थानीय नागरिकलाई सुस्तामै रहेका आश्रयस्थलमा राखिएको थियो ।
नारायणीमा बाढीको तह बढ्दै गएपछि ८०० भन्दा बढी नागरिकलाई नारायणीवारि सुस्ता बालिनगरस्थित बिपी माध्यमिक विद्यालयमा ल्याइएको उहाँले बताउनुभयो ।
“सुस्तामा २१९ घरधुरीमा एक हजार ४५० भन्दा बढी नागरिक छन् । केही पहिल्यै आफन्तको घरमा गएर बसेका छन् भने बाँकीलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा वारि ल्याउने काम भएको हो”, प्रजिअ नेपालले भन्नुभयो ।
नारायणीवारि आउन झोलुङ्गे पुल रहे पनि जलसतह बढेपछि पुल केही माथि उक्लेर विद्यालयसम्म ल्याउन ढिलाइ भएको उहाँले बताउनुभयो । उद्योग वाणिज्य महासङ्घ नवलपरासी र नवलपरासी रेडक्रसले राहत सामग्री लिएर प्रभावित क्षेत्रमा पुगेको उहाँले जानकारी दिनुभयो ।
गण्डक योजना कार्यालय, भैसालोटन बाल्मीकनगरका सम्पर्क तथा भूआर्जन अधिकृत सोभित हलुवाईका अनुसार अहिले गण्डक ब्यारेजमा चार लाख ७९ हजार १०० क्यूसेक पानी मापन गरिएको छ । रासस
