- नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।
- पृथ्वी राजमार्गको मलेखु-मुग्लिन खण्डका ११ स्थानमा पहिरो ।
- पहिरो पन्छाउने काम जारी, साँझसम्म सडक खुलाउने तयारी ।
चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण नाम्सीखोला पुलमा थुप्रिएको लेदोसहितको पहिरो पन्छाएपछि पोखरातर्फ जाने तथा पोखराबाट नारायणगढतर्फ आउने सवारीसाधन र ढुवानीका साधन सञ्चालनमा आएका छन् ।
सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यका अनुसार बिहान ७ः५५ बजे नाम्सीखोलामा लेदोसहितको पहिरो खसेको थियो । पहिरो पन्छाएपछि दिउँसो १२ः१५ बजेदेखि सडक सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो ।
यसैबीच, लगातारको वर्षाका कारण पृथ्वी राजमार्गको मलेखु-मुग्लिन सडकखण्डका विभिन्न ११ स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।
नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिमखण्डका सूचना अधिकारी इञ्जिनियर सचिन्द्र मिश्रका अनुसार शीतलबजारमा लेदो र रुखसहितको पहिरो खसेको छ भने सडक छेउसमेत भासिएको छ । बेनिघाट बजार नजिक गोमती खोलामा लेदोसहितको पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा छ । कृष्णभीरमा माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ ।
ज्यामिरेघाट चौकीभीरमा ढुङ्गा र लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ । हुग्दी खोलादेखि जवाङखोलासम्मको क्षेत्रमा ठाउँठाउँमा ढुङ्गासहितका साना पहिरो खसेका छन् ।
फिस्लिङ आसपासका तीन स्थानमा गरी करिब २०० मिटर सडकमा ढुङ्गा, लेदो र रुखसहितको पहिरो खसेको छ । सोही क्षेत्रमा करिब ३० मिटर सडकको आधा भाग चर्किएको छ । चुम्लिङटारमा पनि ढुङ्गासहितको पहिरो खसेको छ ।
धारापानीका दुई स्थानमा गरी करिब ५० मिटर सडकको आधा भाग भत्किएको सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो । सोही क्षेत्रमा कल्भर्ट खुलाउने काम भइरहेको छ ।
घोप्टेभीर र सिमलधारामा ठूला ढुङ्गा तथा लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । सबै स्थानमा पहिरो पन्छाउने काम भइरहेको इञ्जिनियर मिश्रले बताउनुभयो ।
“अब ठूलो पहिरो नखसेमा साँझसम्म पहिरो पन्छाएर सवारी सञ्चालनमा ल्याइने छ”, उहाँले भन्नुभयो । सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका उपकरणसमेत पहिरो पन्छाउन प्रयोग भइरहेको उहाँले जानकारी दिनुभयो । रासस
