RayNewsDaily
पक्राउ परेका पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले परिवारको जिम्मा लगायो
  • पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा परिवारको जिम्मा लगाएर छाडिए ।
  • राति महाराजगञ्जस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
  • सुरक्षा चुनौतीको कारण कार्यालय ल्याएको प्रहरीको स्पष्टीकरण ।

रे समाचार/काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएर केही घण्टापछि परिवारको जिम्मा लगाएर छाडेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार महाराजगञ्जस्थित निवासबाट राति नियन्त्रणमा लिइएका जबरालाई केही समयअघि परिवारको जिम्मा लगाइएको हो । उहाँविरुद्ध कुनै आपराधिक मुद्दा चलाउने योजना नरहेको प्रहरीले जनाएको थियो ।

जबरालाई आइतबार बिहान करिब ३ बजे प्रहरीले निवासबाट उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा ल्याएको थियो । सुरुमा प्रहरी स्रोतले उहाँलाई पक्राउ गरिएको पुष्टि गरेको थियो । तर केही घण्टापछि प्रहरीले सुरक्षा चुनौतीका कारण सुरक्षित स्थानमा राख्न कार्यालय ल्याइएको स्पष्टीकरण दिएको थियो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कार्कीले जबरालाई सुरक्षा चुनौती महसुस भएपछि कार्यालयमा ल्याइएको र उहाँ सुरक्षित रहेको बताउनुभएको थियो । सुरक्षा चुनौती के थियो भन्नेबारे भने प्रहरीले स्पष्ट जानकारी दिएको थिएन । उहाँलाई पक्राउ गर्दा पक्राउ पुर्जी नदिइएको विवरणसमेत सार्वजनिक भएको छ ।

जबराका परिवारका सदस्यका अनुसार प्रहरीले उहाँलाई सुरक्षा खतरा रहेको भन्दै साथमा आउन आग्रह गरेको थियो । परिवारका अनुसार जबराले त्यस्तो खतरा आफूलाई जानकारी नभएको भन्दै निवासमै सुरक्षा बढाउन आग्रह गर्नुभएको थियो ।

पक्राउको कारणबारे फरक विवरण

जबरालाई नियन्त्रणमा लिएपछि विभिन्न सञ्चारमाध्यममा उहाँविरुद्ध उजुरी परेको र उहाँका पछिल्ला गतिविधिमाथि अनुसन्धान भइरहेको विवरण प्रकाशित भएका थिए । केही स्रोतले राजनीतिक गतिविधि तथा अदालतमा विचाराधीन संवेदनशील विषयमा उहाँको सक्रियतासम्बन्धी आरोपसमेत उल्लेख गरेका छन् । तर प्रहरीले सार्वजनिक रूपमा त्यस्तो कुनै आपराधिक अभियोग पुष्टि गरेको छैन ।

यसबीच प्रहरीले भने उहाँलाई कुनै उजुरीका कारण नभई सम्भावित सुरक्षा जोखिमका कारण सुरक्षित स्थानमा ल्याइएको बताएको छ । सुरक्षा चुनौतीको प्रकृति र त्यसको स्रोतबारे भने प्रहरीले खुलाएको छैन ।

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update