- कमजोर बन्दै न्यूनचापीय प्रणाली, सुदूरपश्चिममा जोखिम घट्दै ।
- आज दिउँसो तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना ।
- रातिदेखि प्रदेशभर मध्यम वर्षाको पूर्वानुमान ।
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रमा सामान्य वर्षा भइरहे पनि ठूलो जोखिम भने टर्दै गएको छ ।
अत्तरियास्थित नेपाल मौसम विज्ञान फिल्ड कार्यालयका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव विस्तारै कमजोर बन्दै गएकाले जोखिम पनि घट्दै गएको हो ।
असोज ९ गतेदेखि लगातार वर्षा हुँदा जनजीवन प्रभावित भए पनि अहिले ठूलो जोखिम नरहेको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहले आज दिउँसोदेखि न्यूनचापीय प्रणाली विस्तारै कमजोर बन्दै गएकाले ठूलो जोखिम नरहे पनि सतर्कता भने आवश्यक रहेको बताउनुभयो ।
उहाँका अनुसार आज दिउँसो तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहे पनि रातिदेखि प्रदेशभर मध्यम वर्षा हुने पूर्वानुमान छ ।
आज दिउँसो प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज रातिदेखि हिमाली, पहाडी र तराई क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
आगामी बुधबार प्रदेशका अधिकांश स्थानमा मौसम आंशिक बदली रही केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । राति तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । रासस
