- बाढीपहिरोबाट पृथ्वी राजमार्गसहित सात राष्ट्रिय राजमार्ग अवरुद्ध ।
- पूर्वपश्चिम राजमार्गसहित केही सडकखण्डमा एकतर्फी यातायात सञ्चालन ।
- अवरुद्ध सडक खुलाउन उपकरण र प्राविधिक टोली परिचालन ।
काठमाडौँ । बाढीपहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्ग तथा मुख्य सडक अवरुद्ध भएका छन् ।
सडक विभागका अनुसार काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बिपी राजमार्ग र कान्ति राजमार्गसहित सात राष्ट्रिय राजमार्गमा यातायात पूर्णरुपमा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गसहित छ सडकखण्डमा भने एकतर्फी तथा आंशिकरुपमा यातायात सञ्चालनमा आएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको रजैयामा पहिरो गएपछि एकतर्फी यातायात सञ्चालनमा छ । पहिरो पन्छाएर सडक पूर्णरुपमा सञ्चालन गर्न मेसिन परिचालन गरिएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर, तिङ्ग्राङखानी, बाङ्गे र चालिसेमा पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भइरहेको विभागले जनाएको छ ।
नारायणघाट–मुग्लिन सडकखण्डको नाम्सी खोला पुलमा लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । सो पहिरो हटाउने काम जारी छ ।
बिपी राजमार्गअन्तर्गत माम्ती, पिप्ले, दाउन्ने-कालोपुल, चारसयबेँसी, कटुन्जे र चौकीडाँडालगायत स्थानमा पहिरो तथा बाढीले डाइभर्सन बगाएपछि यातायात अवरुद्ध भएको छ । निरन्तर वर्षा भइरहेका कारण पहिरो खस्ने क्रम नरोकिएकाले आज सडक सञ्चालन गर्न नसकिने विभागले जनाएको छ ।
कान्ति राजमार्गअन्तर्गत चपली र तकुर्चेलगायत स्थानमा पहिरो खसेपछि सवारी आवागमन बन्द भएको छ । सिद्धिचरण राजमार्गअन्तर्गत ओखलढुङ्गा-सल्लेरी सडकको सोलुखोला नजिक सडक भासिएपछि भित्तो कटान गरी अस्थायी रुपमा सञ्चालनमा ल्याइएको छ ।
मध्यपहाडी राजमार्गअन्तर्गत बागलुङको घोडाबाँधे-हटिया खण्ड, नरेठाँटी, काफलठुटा, झाँक्रीस्थान र चौराहलगायत स्थानमा पहिरो तथा ढलेका रुख हटाएर सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ ।
कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको रघुगङ्गा-२ बैसेरी सिरुवारीमा झरेको पहिरो वर्षाका कारण पन्छाउन कठिनाइ भएको छ । जैमिनी-८, बेलबगरमा भने स्थानीय यातायातका लागि एकतर्फी सडक खुला गरिएको छ । लामो दूरीका सवारीलाई भने हाल अनुमति दिइएको छैन ।
तमोर करिडोरको मुलघाट-फिदिम खण्डअन्तर्गत छरुवा खोला, नवा खोला र रानीगाउँमा सडक आंशिक अवरुद्ध भएको छ । नदीको बहाव बढ्दा सडक अवरुद्ध हुने र बहाव घटेपछि सञ्चालन हुने अवस्था रहेको विभागले जनाएको छ ।
राप्ती राजमार्गअन्तर्गत कपुरकोट-खारखोला-टुनीकोट खण्डमा पहिरो खसेपछि सडक पूर्णरुपमा बन्द भएको छ ।
कर्णाली राजमार्गअन्तर्गत गगने खोला, राँका तथा बाङ्गेसिमल-दहीखोला खण्डमा पहिरोका कारण यातायात प्रभावित भएको छ । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने काम भइरहेको छ ।
भालुवाङ-चकचके-लिवाङ सडकका विभिन्न स्थानमा पहिरो खसेपछि आंशिक अवरोध भएको छ । साना सवारीसाधनलाई सावधानीपूर्वक सञ्चालन गर्न दिइएको छ भने पहिरो तथा ढुङ्गा हटाउने काम भइरहेको छ ।
बेँसीसहर-चामे सडकअन्तर्गत मनाङको नासो गाउँपालिकाको खोत्रोमा ढुङ्गा खसेपछि पहिरो पन्छाउन कठिनाइ हुँदा सडक पूर्णरुपमा बन्द भएको छ ।
विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार सडक अवरोध हटाई यातायात सेवा यथाशीघ्र सञ्चालन गर्न उपकरण तथा प्राविधिक टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । रासस
