RayNewsDaily
हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार
अविरल वर्षाका कारण शुक्रवार काठमाडौँको शङ्खमुल क्षेत्रमा बागमती नदीमा बढेकाे पानीकाे सतह । पानीकाे सतह बढेपछि बागमती नदी आसपासका नागरिकलाई सचेत रहन र नदी आसपासमा नजान प्रहरीले माइकिङ सहित आग्रह गरिरहेको छ । तस्बिर : विमलबहादुर विष्ट/रासस
  • बाढीको जोखिममा परेका १५ परिवारका ९२ जनाको उद्धार ।
  • मनोहरा पुल जोखिममा परेपछि यातायात आवागमन बन्द ।
  • भक्तपुर-काभ्रे जोड्ने च्यामासिंह-ताथली-नाला सडक सञ्चालन ।

भक्तपुर । दुई दिनदेखि परेको अविरल वर्षाका कारण हनुमन्ते र गोदावरी खोलामा आएको बाढीबाट जोखिममा परेका खोला किनारका १५ परिवारका ९२ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

बालकोट, कौशलटार, लोकन्थली र सागबारी क्षेत्रमा हनुमन्तेको सतह बढेर अस्थायी टहरामा पानी पस्न थालेपछि प्रहरीले त्यहाँ बस्दै आएका १५ परिवारका ९२ जनालाई उद्धार गरी कौशलटारस्थित आदर्श जनप्रेमी स्कुलमा सारेको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख सूर्यबहादुर खड्काका अनुसार बालकोट र लोकन्थलीको सीमामा पर्ने सागबारी, हनुमन्ते, मनोहरा र गोदावरी खोला जोडिने त्रिवेणीस्थलबाट जोखिममा रहेका उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।

भक्तपुर-काठमाडौँ जोड्ने पुल जोखिममा

भक्तपुरको बोडे र काठमाडौँको मूलपानी जोड्ने मनोहरा खोलाको पुलसँगैको जमिन भासिएपछि यातायात आवागमनमा रोक लगाइएको छ । निरन्तरको वर्षाका कारण मनोहरा खोलामा आएको बाढीले सडक तथा जमिन भासिएर पुलसमेत जोखिममा परेपछि यातायात बन्द गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिनुभयो ।

अविरल वर्षाका कारण हनुमन्ते, खस्याङखुसुङ र गोदावरी खोलाको सतह बढेको छ । डेकोचा, पिखेल हुँदै चाँगुनारायणतर्फ जाने सडकमा समेत खोलाको पानी बढेपछि आवागमन प्रभावित भएको छ ।

भक्तपुर-काभ्रे जोड्ने सडक सञ्चालन

वर्षाका कारण अवरुद्ध भएको भक्तपुर नगरपालिकाको च्यामासिंहबाट ताथली हुँदै काभ्रेको नाला-बनेपा जोड्ने सडकखण्डमा यातायात सञ्चालनमा आएको छ ।

वर्षासँगै आएको पहिरोका कारण उक्त सडकखण्डमा आज बिहानदेखि सवारी आवागमन रोकिएको थियो । पहिरो हटाएपछि च्यामासिंह-ताथली-नाला सडकमा यातायात सञ्चालन गरिएको हो । रासस

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  २०:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update