- पहिरोले दुई घर पूर्ण रूपमा क्षतिग्रस्त, एक महिला बेपत्ता ।
- सिद्धार्थ राजमार्गसहित विभिन्न सडकखण्डमा यातायात प्रभावित ।
- लगातार वर्षाले पहिरो पन्छाउन कठिनाइ ।
पाल्पा । अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्याएको छ । जिल्लाका विभिन्न स्थानमा पहिरो खस्दा दुई घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने एक महिला बेपत्ता हुनुभएको छ । विभिन्न सडकखण्डसमेत अवरुद्ध भएका छन् ।
रिब्दीकोट गाउँपालिका-६ धुस्तुङस्थित गोलफानमा आज दिउँसो गएको पहिराले स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आएपछि पहिरो गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो ।
उहाँका अनुसार रामबहादुरको चार जनाको परिवार सकुशल छन् । केसुरामको चार जनाको परिवारमध्ये उहाँकी ५९ वर्षीया श्रीमती कृष्णकुमारी सारु पहिरोमा परी बेपत्ता हुनुभएको छ । परिवारका अन्य सदस्य भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
घर पूर्ण रूपमा क्षतिग्रस्त भए पनि चौपायामा क्षति नभएको प्रहरीले जनाएको छ । निरन्तर पानी परिरहेको र घरमाथिको मोटरबाटोबाट ढुङ्गामाटोसहितको लेदो बगिरहेकाले तत्काल उद्धारमा कठिनाइ भएको छ । बेपत्ता सारुको खोजीकार्य जारी छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका-३ तल्लो सिद्धबाबा मन्दिर नजिकै तथा तिनाउ-५ को चरचरे र जोरधाराबीचमा माथिबाट ढुङ्गा खस्दा केही समय सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि पहिरो खस्ने क्रम नरोकिएको प्रहरीले जनाएको छ ।
रिब्दीकोट गाउँपालिका-५ माराबास र बोदीस्थित बतासेबाट रैनादेवी छहरा गाउँपालिका जाने भित्री सडकखण्डमा पनि पहिरो खसेर यातायात अवरुद्ध भएको छ ।
त्यस्तै, सदरमुकाम तानसेनबाट पश्चिम भेग जोड्ने तानसेन-हार्थोक-छहरा सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा सवारी आवागमन ठप्प भएको छ । हार्थोक-बतासे सडकअन्तर्गत कसुमखोला क्षेत्रमा निर्माणाधीन सडकमाथिबाट पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको स्थानीय भुवन रायमाझीले बताउनुभयो ।
सडक अवरुद्ध हुँदा सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । अत्यावश्यक सेवाका सवारीसाधनसमेत बाटोमै रोकिएका छन् । विशेषगरी बिरामी बोकेका एम्बुलेन्स तथा ग्रामीण क्षेत्रबाट सदरमुकाम र अन्य सहरमा दूध पुर्याउने सवारीसाधन रोकिँदा समस्या भएको रायमाझीले बताउनुभयो ।
पहिरोका कारण दूधलगायत छिट्टै बिग्रिने अत्यावश्यक वस्तुको ढुवानी प्रभावित हुँदा कृषक तथा व्यवसायीसमेत समस्यामा परेका छन् । स्थानीय प्रशासन तथा सम्बन्धित निकायले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन् । तर, लगातार वर्षा भइरहेकाले पहिरो हटाउन कठिनाइ भइरहेको जनाइएको छ ।
सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सिद्धार्थ राजमार्गको दोभान-सिद्धबाबा सडकखण्डमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले बिहीबारदेखि सोमबारसम्म बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन बन्द गरेको हो । रासस
