RayNewsDaily
कोरलानाका क्षेत्रमा असोजमै बेमौसमी हिमपात
  • कोरलानाका क्षेत्रमा बिहीबार रातिदेखि हिमपात ।
  • हिमपात र वर्षाले आवतजावतमा समस्या ।
  • मुस्ताङमा राति यातायात सञ्चालनमा रोक ।

मुस्ताङ । समुद्री सतहदेखि चार हजार ६१० मिटरको उचाइमा रहेको नेपाल-चीन उत्तरी कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात भएको छ । बिहीबार राति भएको हिमपातले कोरलानाका क्षेत्र हिउँले सेताम्मे भएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार बिहीबारदेखि मुस्ताङमा निरन्तर वर्षा भइरहेकाले उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा हिमपात भएको हो ।

हिमपातसँगै कोरलानाका क्षेत्रमा निकासी तथा पैठारीका कन्टेनर तथा ढुवानीका साधनलाई आवतजावतमा समस्या भएको छ । हरेक वर्ष हिउँदयाममा हिमपात हुने यस क्षेत्रमा असोजमै हिउँ परेको हो । सीमावर्ती क्षेत्रका डाँडाकाँडा पनि हिउँले सेताम्मे भएका छन् ।

कोरलानाका क्षेत्रमा हिमपात भइरहँदा लोमान्थाङ आसपासका बस्तीमा भने भारी वर्षा भएको छ । बस्तीभन्दा माथिका उच्च लेकमा आंशिक हिमपात भइरहेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । वर्षा र हिमपातसँगै उपल्लो मुस्ताङमा चिसो बढ्न थालेको उहाँले बताउनुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, मौसम विज्ञान विभाग तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि लगातार चार दिनसम्म भारी वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुनसक्ने पूर्वसूचना जारी गरेका थिए । सोहीअनुसार मुस्ताङको कोरलानाका क्षेत्रमा हिमपात भएको र जिल्लाका अन्य क्षेत्रमा निरन्तर वर्षा भइरहेको प्रहरीले जनाएको छ ।

मौसम प्रतिकूलताका कारण बाढी, पहिरो र नदी कटानबाट सडक अवरुद्ध हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले काभ्रेभिरदेखि उपल्लो मुस्ताङसम्मको सडकमा यात्रा नगर्न सूचना जारी गरेको छ । सम्भावित विपद् तथा क्षति न्यूनीकरणका लागि बिहीबार रातिदेखि चार दिनसम्म साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी एकराज भण्डारीले जानकारी दिनुभयो ।

यस्तै, घरपझोङ गाउँपालिकाले वर्षाका कारण कालीगण्डकी नदीको बहाव बढेर जोखिम सिर्जना हुनसक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । गाउँपालिकाले शुक्रबारदेखि माइकिङ गरी नदी आसपासका नागरिकलाई सावधानी अपनाउन अनुरोध गरेको हो ।

वर्षाका कारण मुस्ताङका पुराना ढुङ्गा र माटोले निर्मित परम्परागत घरमा समेत जोखिम बढेको छ । घरपझोङ-५ ठिनीकी स्थानीय सरिता थकालीका अनुसार निरन्तर वर्षाका कारण पुराना घर चुहिने तथा भत्किने जोखिम बढेको छ । वर्षाबाट जोगाउन स्थानीयले घरका छत र गारोमा त्रिपाल तथा प्लास्टिकले ढाकेका छन् । रासस

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update