- पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने ।
- लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना ।
- बाढी-पहिरोको जोखिममा सावधानी अपनाउन आग्रह ।
काठमाडौँ । मौसमविद् राजन लामिछानेले आगामी दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि अझ बढ्ने बताउनुभएको छ ।
बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा भारी तथा केही स्थानमा धेरै भारी वर्षा भएको मौसमविद् लामिछानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार पाल्पाको अर्चले मौसम मापन केन्द्रमा १४० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ । पछिल्ला दुई दिनदेखि विभिन्न स्थानमा लगातार वर्षा भइरहेकाले बाढी तथा पहिरोको जोखिमसमेत बढेको उहाँले बताउनुभयो ।
“हाल न्यून चापीय प्रणाली भारतको छत्तीसगढ र आसपासको क्षेत्रमा अवस्थित रहेको र क्रमशः नेपालतर्फ सर्दै जानेछ । यसको प्रभाव आजदेखि पश्चिमी भूभागतर्फ सर्दै जानेछ”, मौसमविद् लामिछानेले भन्नुभयो, “आज र भोलि विशेषगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि बढी हुने देखिएको छ । पूर्वी क्षेत्रमा भने क्रमशः वर्षाको गतिविधि घट्दै जाने र मौसममा सुधार आउने सम्भावना छ ।”
असोज १० गते शनिबारसम्म न्यून चापीय प्रणालीको प्रभाव पश्चिमतर्फ सर्दै जाने र लुम्बिनी तथा सुदूरपश्चिमका क्षेत्रमा वर्षाको गतिविधि बढ्न सक्ने पूर्वानुमान रहेको उहाँले बताउनुभयो ।
असोज ११ गते आइतबार पूर्वी क्षेत्रमा मौसममा सुधार आउने देखिए पनि पश्चिमी क्षेत्रमा प्रणालीको प्रभाव कायम रहनेछ । असोज १२ गतेदेखि देशभर मौसम क्रमशः सुधार हुने तथा असोज १३ गतेदेखि वर्षाको प्रभाव अझ कम हुने सम्भावना रहेको विभागले जनाएको छ ।
मौसम प्रणाली निरन्तर परिवर्तन हुनसक्ने भएकाले विभागले निगरानी गरिरहेको र आवश्यकताअनुसार पूर्वानुमान तथा चेतावनी अद्यावधिक गर्दै जाने मौसमविद् लामिछानेले बताउनुभयो ।
भारी वर्षा भइरहेका तथा चेतावनी जारी गरिएका क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यान दिई अनावश्यक यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन उहाँले आग्रह गर्नुभएको छ । रासस
