- अविरल वर्षापछि नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध ।
- चितवन र धादिङका विभिन्न स्थानमा पहिरो र ढुङ्गा खस्ने क्रम जारी ।
- निरन्तर वर्षाका कारण तत्काल यातायात सञ्चालन गर्न कठिन ।
नारायणगढ (चितवन) । अविरल वर्षाका कारण नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गअन्तर्गत चितवन तथा धादिङका विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार विभिन्न स्थानमा लगातार साना-ठूला पहिरो खसिरहेकाले तत्काल सडक सञ्चालनमा ल्याउन सकिने अवस्था छैन । निरन्तर वर्षाका कारण पहिरो र ढुङ्गा खस्ने क्रम जारी रहेको उहाँले बताउनुभयो ।
चितवनको इच्छाकामना गाउँपालिका-४ धारापानीमा सडक पुनः भासिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । यसअघि सडक भासिएपछि उक्त स्थानमा एकतर्फी यातायात सञ्चालन हुँदै आएको थियो ।
इच्छाकामना-५ सिमलधारामा माथिबाट पहिरो खस्दा दुवैतर्फको सडक अवरुद्ध भएको छ । सोही गाउँपालिकाको तुइनखोला र नाम्सीखोलामा ढुङ्गा तथा पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला, नाम्से पुल, १५ किलो र १७ किलोमा पनि सामान्य ढुङ्गामाटो खसेको छ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका-७ कृष्णभिर र ज्यामिरेघाटमा पहिरो खस्दा दुवैतर्फको सडक अवरुद्ध भएको छ । गजुरी गाउँपालिका-६ जरेखेत र थाक्रे गाउँपालिका-२ कमेरेभिरमा पनि पहिरोका कारण सडक प्रभावित भएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिनुभयो ।
कृष्णभिर, सिमलधारा, धारापानी, नाम्सीखोला र तुइनखोलामा सडकमा खसेको पहिरो हटाउने काम जारी छ । तर निरन्तर वर्षाका कारण धेरै स्थानमा पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल सडक सञ्चालनमा आउने अवस्था नरहेको उहाँले बताउनुभयो ।
जोखिम बढेपछि हिजो रातिदेखि नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । आज बिहानदेखि पनि विभिन्न स्थानमा थप पहिरो खसेपछि सवारीसाधन सञ्चालनमा रोक कायम राखिएको प्रहरीले जनाएको छ ।
कृष्णभिरमा ग्याबिन झर्यो
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा नयाँ ट्र्याक खोलिएको सडकको नदीतर्फको ग्याबिन केही तल झरेको छ । नागढुङ्गा-मुग्लिङ सडक योजना (पश्चिम खण्ड) प्रमुख सजना अधिकारीका अनुसार नयाँ ट्र्याक हाल सञ्चालनमा रहेको सडकमा भने कुनै समस्या देखिएको छैन ।
लगातार वर्षा भइरहेकाले थप क्षति हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार नयाँ ट्र्याक खोलिएको माथिल्लो स्थानबाट सामान्य पहिरो झरेको छ भने सडकको साइटतर्फको ग्याबिनको बीच भाग केही खसेको छ । हालसम्म सडकमा ठूलो क्षति भने भएको छैन ।
कृष्णभिर क्षेत्रमा साना-साना पहिरो खस्ने क्रम जारी रहेकाले अहिले सडकमा यातायात सञ्चालन गर्न सकिने अवस्था नरहेको उहाँले बताउनुभयो । वर्षाका कारण सडकको अवस्थाबारे प्राविधिक टोलीले निरन्तर अनुगमन गरिरहेको उहाँले जानकारी दिनुभयो । रासस
