RayNewsDaily
विराटनगर लगायत पूर्वी नेपालमा बुधबार साँझदेखि निरन्तर वर्षा

रे समाचार/विराटनगर । विराटनगरसहित पूर्वी नेपालका विभिन्न जिल्लामा बुधबार साँझदेखि निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण जनजीवन प्रभावित हुन सक्ने, नदी, खोला र पहाडी क्षेत्रमा बाढी, डुबान र पहिरोको जोखिम बढ्न सक्ने भएकाले सतर्क रहन सम्बन्धित निकायले आग्रह गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली क्रमशः शक्तिशाली बन्दै जाँदा मनसुन सक्रिय भएको हो। उक्त प्रणालीको प्रभावसँगै मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभावका कारण पूर्वी नेपालमा वर्षा भइरहेको छ।

विभागले आज बिहीबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा ठूलो मात्रामा वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ। कोशी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा अत्यधिक वर्षासमेत हुन सक्ने चेतावनी दिइएको छ।

निरन्तर वर्षाका कारण पूर्वी नेपालका नदी तथा खोलामा पानीको सतह बढ्ने, तराई मधेसका बस्तीमा डुबान हुने र पहाडी क्षेत्रमा पहिरो जाने जोखिम रहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि माटोको कटान, बाढी, पहिरो, गेग्रानसहितको बाढी र तराईका क्षेत्रमा डुबान हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

विशेषगरी विराटनगरसहित मोरङ, सुनसरी र झापाका होचा तथा डुबानको जोखिम भएका बस्तीमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै कोशी प्रदेश सरकारले १४ वटै जिल्लाका प्रशासन कार्यालय तथा स्थानीय तहलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  २१:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update