RayNewsDaily
वर्षाका कारण सम्भावित जोखिम रोक्न सरकार उच्च सतर्क, सबै मन्त्रालय सक्रिय
  • वर्षाजन्य जोखिम रोक्न सरकार उच्च सतर्क, सबै मन्त्रालय सक्रिय ।
  • उद्धारदेखि स्वास्थ्य, खाद्यान्न र विद्युत्सम्म पूर्वतयारी तीव्र ।
  • जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्न निर्देशन ।

काठमाडौँ । देशभर जारी वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट नागरिकको धनजन जोगाउन सरकार उच्च सतर्कताका साथ परिचालित भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि आवश्यक सावधानी अपनाउन दिएको निर्देशनअनुसार सम्बन्धित मन्त्रालय तथा मातहतका निकाय पूर्वतयारी र प्रतिकार्यमा जुटेका हुन् ।

कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सम्बन्धित मन्त्रीहरूसँग विपद् पूर्वतयारीबारे छलफल गर्दै मानवीय तथा भौतिक क्षति रोक्न सबै मन्त्रालय र तिनका निकायलाई उच्च सतर्कताका साथ परिचालन गरिएको बताउनुभयो । उहाँले स्थानीय तहलाई विपद्पछिको प्रतिकार्यका लागि आफ्ना स्रोतसाधन प्रयोग गर्न कुनै कञ्जुस्याइँ नगर्न आग्रह गर्नुभएको छ ।

गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै जिल्ला सुरक्षा समितिको बैठकमार्फत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखेको छ । नदी तटीय क्षेत्रमा माइकिङ गरी स्थानीयलाई सचेत गराउने, जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्ने तथा अस्पताल, एम्बुलेन्स र स्वास्थ्य केन्द्रलाई आपत्कालीन सेवाका लागि तयारी अवस्थामा राख्ने काम भइरहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकलाई सुरक्षित स्थानमा सार्न तथा आवश्यक सहजीकरण गर्न होटल व्यवसायीलाई आग्रह गरेको छ । मौसमको अवस्थाअनुसार आन्तरिक उडानमा सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न र उद्धार उडानलाई प्राथमिकता दिनसमेत निर्देशन दिइएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयले स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार विद्यालय बिदा गर्न सकिने व्यवस्था गरेको छ । असोज ९ देखि ११ गतेसम्मका लागि तोकिएका परीक्षा स्थगित गर्न तथा सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न सहजीकरण गरिएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सातै प्रदेशका स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रमार्फत अस्पतालमा जनशक्ति, औषधि र एम्बुलेन्स सेवा २४सै घण्टा तयारी अवस्थामा राखेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था कम्पनी र नेपाल आयल निगमलाई खाद्यान्न तथा इन्धनको मौज्दात र नियमित वितरण सुनिश्चित गर्न निर्देशन दिएको छ । कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनसमेत तीव्र पारिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रमुख नदीमा पाँच दिन र साना नदीमा ४८ घण्टाअगावै बाढीको पूर्वसूचना पाउने व्यवस्था मिलाएको छ । नेपाल विद्युत् प्राधिकरणले अवरुद्ध विद्युत् सेवा तत्काल सञ्चालन गर्न कर्मचारीलाई तयारी अवस्थामा राखेको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले मनसुनजन्य जोखिमबाट बालीनाली र कृषिउपज जोगाउन दैनिक विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरिरहेको छ । पूर्वाधार विकास मन्त्रालयले डोजर, स्काभेटरलगायत भारी उपकरण जोखिमयुक्त सडकखण्ड नजिक परिचालन गरी चौबिसै घण्टा तयारी अवस्थामा राखेको छ भने रातिको समयमा जोखिमपूर्ण सडक सञ्चालनमा रोक लगाएको छ ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज ११ गतेसम्म ७५३ वटै स्थानीय तहका कर्मचारीलाई बिदामा नबस्न तथा प्रमुख प्रशासकीय अधिकृतलाई नियमित सम्पर्कमा रहन निर्देशन दिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत नेपाल टेलिकमले बाढीको जोखिम भएका क्षेत्रमा नियमित सन्देश पठाउनुका साथै ११५५ मा डायल गरी मौसम तथा बाढीको पूर्वसूचना लिन सकिने व्यवस्था मिलाएको छ ।

आपत्कालीन अवस्थामा नागरिकले जल तथा मौसम विज्ञान विभागको ११५५, जिल्ला आपत्कालीन केन्द्रको १२३४, हेलो सरकारको ११११, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरीको १११४ नम्बरमा सम्पर्क गरी सहयोग लिन सक्नेछन् । रासस

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  २१:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update