- नेपाली सेनाका ८५ नवदीक्षित चिकित्सकलाई प्रमाणपत्र वितरण ।
- प्रधान सेनापति अशोकराज सिग्देलले दिए प्रमाणपत्र ।
- नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट हालसम्म ९४४ चिकित्सक दीक्षित ।
रे समाचार/काठमाडौँ । प्रधान सेनापति महारथी अशोकराज सिग्देलले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट एमबीबीएस उत्तीर्ण गरी इन्टर्नसिप पूरा गरेका ८५ नवदीक्षित चिकित्सकलाई प्रमाणपत्र वितरण गर्नुभएको छ ।
नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा शैक्षिक सत्र २०७६/७७ देखि सञ्चालन भएको चिकित्सा शिक्षा स्नातक तहको एमबीबीएस अध्ययन पूरा गरी इन्टर्नसिपसमेत सम्पन्न गरेका नवौँ ब्याचका चिकित्सकलाई उहाँले प्रमाणपत्र वितरण गर्नुभएको हो ।

प्रमाणपत्र वितरण कार्यक्रममा प्रधान सेनापति सिग्देलले स्वास्थ्य क्षेत्रमा सेवारत रहँदा सधैँ मर्यादित र नैतिक धरातलमा रही समाज, राष्ट्र र समग्र मानव सेवामा समर्पित भएर कार्य गर्न चिकित्सकलाई सुझाव दिनुभएको थियो । उहाँले दीक्षित चिकित्सकलाई बधाई तथा शुभकामना पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका कार्यकारी निर्देशक प्रा.स.र. डा. भैरवकुमार हमालले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा रथीवृन्द, प्राध्यापक तथा प्राचार्य, सैनिक अधिकृत, कर्मचारी, नवदीक्षित चिकित्सक तथा उहाँहरूका परिवारजनको उपस्थिति थियो ।

नेपाली सेनाले स्वास्थ्य शिक्षामार्फत स्वास्थ्य सेवामा टेवा पुर्याउने उद्देश्यसहित विसं २०६८ मा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान स्थापना गरेको हो । संस्थानबाट हालसम्म ९४४ जना चिकित्सक दीक्षित भइसकेका छन् ।
