- पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिन सडक राति बन्द ।
- चितवन क्षेत्रमा साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म आवागमन रोक ।
- पहिरोको जोखिम उच्च रहेकाले यात्रामा सावधानी अपनाउन आग्रह ।
चितवन । निरन्तर वर्षासँगै पहिरोको जोखिम बढेपछि पृथ्वी राजमार्गको चितवन र धादिङ क्षेत्रमा तथा नारायणगढ-मुग्लिन सडकखण्डमा आज राति सवारी आवागमन रोक लगाइएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार साँझ ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म चितवनको पृथ्वी राजमार्ग क्षेत्र र नारायणगढ-मुग्लिन सडकखण्डमा सवारी सञ्चालन रोकिएको हो ।
निरन्तर वर्षा भइरहेको र पहिरोको जोखिम उच्च रहेकाले सवारी रोकिएको उहाँले बताउनुभयो । बिहानको अवस्था हेरेर थप सूचना जारी गरिने उहाँको भनाइ छ ।
उहाँले बिहान ५ बजे सवारी सञ्चालन गरिने भए पनि रातिमा पहिरो जाने अवस्था आएमा वा निरन्तर वर्षा भइरहेमा अर्को सूचना जारी गरिने बताउनुभयो ।
यस्तै, धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले यात्रु तथा सवारी चालकलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गर्नुभएको छ । उहाँले जोखिमयुक्त स्थानमा नजान तथा सम्बन्धित निकायबाट जारी सुरक्षा निर्देशन पूर्णरूपमा पालना गर्न अनुरोध गर्नुभएको छ । रासस
