RayNewsDaily
बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
  • बिपी राजमार्गको काभ्रे खण्डमा चार दिन राति सवारी रोक ।
  • बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द ।
  • बाढीपहिरोको जोखिम बढे दिनमा पनि सवारी रोक्न सकिने ।

बनेपा (काभ्रे) । सम्भावित भारी वर्षासँगै बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा चार दिन रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको छ ।

मनसुन प्रतिकार्य कमाण्ड पोष्ट काभ्रेपलाञ्चोकको असोज ७ गते बसेको बैठकले असोज ८ गतेदेखि १२ गते बिहान ५ बजेसम्म बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म बिपी राजमार्गको काभ्रे खण्डमा सवारी आवागमन रोक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो ।

असोज ८ गतेदेखि ११ गतेसम्म ठूलो वर्षा हुनसक्ने मौसम पूर्वानुमान रहेकाले सम्भावित बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि रातिको समयमा सवारी रोक्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

बैठकले वर्षा तथा बाढीको अवस्था मूल्याङ्कन गरी दिनको समयमा पनि सवारी सञ्चालन रोक्नुपर्ने अवस्था देखिएमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आवश्यक निर्णय लिनसक्ने व्यवस्था गरेको छ । निर्णय कार्यान्वयनमा सहजीकरणका लागि सिन्धुली र भक्तपुरका प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गर्ने निर्णयसमेत भएको छ ।

नदी किनार तथा पहिरोको जोखिममा रहेका बासिन्दालाई सम्भावित बाढीपहिरोबारे निरन्तर जानकारी गराउन तथा स्थानीय सञ्चारमाध्यममार्फत पूर्वसूचना प्रभावकारी रूपमा सम्प्रेषण गर्ने निर्णय गरिएको छ ।

त्यस्तै, नेपाली सेना श्रीमेहर गण, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण हेडक्वार्टरलाई उद्धार टोली विभिन्न स्थानमा तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ ।

प्रशासनले सम्भावित विपद्को जोखिममा रहेका नागरिकलाई पूर्वसूचनाप्रति सजग रहन तथा आवश्यक अवस्थाबाहेक जोखिमयुक्त क्षेत्रमा आवागमन नगर्न आग्रह गरेको छ । रासस

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update