RayNewsDaily
शनिबारसम्म वर्षा बढ्ने सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह
  • शनिबारसम्म वर्षाको गतिविधि बढ्ने मौसमविद्को प्रक्षेपण ।
  • आज पाँच प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना ।
  • हिमाली क्षेत्रमा भारी हिमपातको जोखिम, सतर्कता अपनाउन आग्रह ।

काठमाडौँ । आगामी शनिबारसम्म विभिन्न स्थानमा वर्षाको गतिविधि बढ्ने सम्भावना रहेकाले बाढी, पहिरो तथा भारी वर्षाको सम्भावित असरबाट जोगिन मौसमविद्ले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेविड ढकालले अहिलेको अवस्थालाई लिएर अत्यधिक डराउनुपर्ने अवस्था नरहेको स्पष्ट पार्दै मौसमसम्बन्धी सूचना नियमित रूपमा अद्यावधिक गर्न आग्रह गर्नुभयो ।

“वर्षा हुने सम्भावना देखिएकाले सतर्कता अपनाउनुपर्ने आवश्यकता छ, तर अत्यधिक डराउनुपर्ने अवस्था देखिएको छैन,” उहाँले भन्नुभयो, “मौसम छिनछिनमा परिवर्तन हुनसक्ने भएकाले न्यूनचापीय प्रणालीको निरन्तर निगरानी गरिरहेका छौँ र यसको प्रभावबारे नियमित रूपमा अद्यावधिक सूचना सार्वजनिक गर्दै जानेछौँ ।”

उहाँका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली गहिरो न्यूनचापीय प्रणालीमा परिणत भई भारतको उत्तरी आन्ध्र प्रदेश तथा दक्षिणी ओडिसा आसपास जमिनमा प्रवेश गरेको छ । उक्त प्रणालीका कारण जलवाष्पयुक्त हावा नेपालतर्फ आइरहेकाले वर्षाको गतिविधि बढेको हो ।

हाल कर्णाली प्रदेशदेखि पूर्वी भू-भागसम्म सामान्यतया बादल लागेको तथा गण्डकीको पूर्वी भू-भाग, लुम्बिनी, बागमती, कोशी र मधेस प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको उहाँले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ । पाल्पा, अर्घाखाँची र कपिलवस्तु आसपास भारीदेखि धेरै भारी वर्षा भएको र अधिकतम करिब १६४ मिलिमिटरसम्म वर्षा भएको मौसमविद् ढकालले बताउनुभयो ।

आज लुम्बिनी प्रदेशदेखि पूर्वी भू-भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने तुलनात्मक रूपमा कम भू-भागमा वर्षा हुने देखिएको छ ।

“आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ,” उहाँले भन्नुभयो, “ती प्रदेशका तराई भू-भागमा केही स्थानमा सामान्यभन्दा केही बढी हावाहुरी चल्नसक्ने सम्भावना छ ।”

शुक्रबार वर्षाको गतिविधि अझ बढ्ने सम्भावना रहेको उहाँले बताउनुभयो । कर्णाली प्रदेशदेखि पूर्वी भू-भागसम्म वर्षा केन्द्रित हुने तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको उहाँको भनाइ छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेकाले विशेष सतर्कता आवश्यक रहेको उहाँले बताउनुभयो । मौसम पूर्वानुमानमा सुन्तला रङले देखाइएका क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो ।

शनिबार भने वर्षाको गतिविधि क्रमशः पश्चिमतर्फ केन्द्रित हुने देखिएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेकाले ती क्षेत्रमा उच्च सतर्कता आवश्यक रहेको मौसमविद् ढकालले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update