RayNewsDaily
भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता
  • भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता ।
  • रातिको समयमा लामो दूरीको यात्रा नगर्न प्रशासनको आग्रह ।
  • नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा सर्न अपिल ।

चितवन । चितवनसहित देशभर केही दिन लगातार भारी वर्षा हुने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसम विज्ञान विभागको प्रक्षेपणअनुसार भारी वर्षाको सम्भावना रहेकाले सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले पूर्वसतर्कता अपनाउन आग्रह गरेको हो ।

प्रशासनले सूचना जारी गर्दै अतिआवश्यक कामबाहेक रातिको समयमा लामो दूरीको यात्रा नगर्न आग्रह गरेको छ । यात्रा गर्नैपरेमा सडकको अवस्थाबारे सुरक्षा निकाय वा स्थानीय तहसँग जानकारी लिएर मात्र यात्रा गर्न भनिएको छ ।

यात्राका क्रममा मौसम बिग्रिएमा गन्तव्यमा पुगेरै छाड्नेभन्दा आफू रहेकै स्थान आसपासको सुरक्षित ठाउँमा बस्नसमेत प्रशासनले आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गर्नुभएको छ । स्थानान्तरणका क्रममा समस्या भएमा सम्बन्धित स्थानीय तह वा नजिकको सुरक्षा निकायमा सम्पर्क गर्न उहाँले अनुरोध गर्नुभएको छ ।

मौसमको अवस्था हेरेर जुनसुकै बेला सडक आवागमन बन्द हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो ।

तटीय क्षेत्रमा सञ्चालित होटल, रेस्टुरेन्ट, विद्यालय तथा कलकारखाना छोटो सूचनाका आधारमा जुनसुकै बेला बन्द गर्नुपर्ने अवस्था आउनसक्ने भएकाले आवश्यक तयारी गर्न पनि प्रशासनले आग्रह गरेको छ । रासस

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update