RayNewsDaily
सुदूरपश्चिममा भारी वर्षाको जोखिम, सेना र सुरक्षा संयन्त्र तयारी अवस्थामा
  • बझाङ, बाजुरा, दार्चुला र अछाममा उच्च सतर्कता ।
  • १४ अस्थायी विपद् सुरक्षा बेस तयारी अवस्थामा ।
  • उद्धार र राहतका लागि सेनाको हेलिकप्टर तयारीमा ।

महेन्द्रनगर । आगामी शुक्रबारदेखि तीन दिनसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरिएकाले सुदूरपश्चिम प्रदेशमा विपद् प्रतिकार्यका लागि सरोकारवाला संयन्त्र तयारी अवस्थामा राखिएको छ ।

जल तथा मौसम विज्ञान कार्यालय अत्तरिया, कैलालीका निमित्त प्रमुख सञ्जयकुमार शाहका अनुसार सम्भावित वर्षाका कारण उच्च जोखिममा रहेका बझाङ, बाजुरा, दार्चुला र अछाममा उच्च सतर्कताका लागि ‘अलर्ट’ जारी गरिएको छ । चुरे क्षेत्रमा समेत वर्षाको सम्भावना रहेकाले जोखिमअनुसार आवश्यक तयारी गरिएको उहाँले बताउनुभयो ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले सम्भावित विपद्बाट बच्न नागरिक तहसम्म सूचना जारी गरिएको बताउनुभयो । सडक अवरुद्ध भए तत्काल सञ्चालन गर्न स्काभेटर तयारी अवस्थामा राख्नुका साथै दुई महिनासम्मका लागि खाद्यान्नको बन्दोबस्त गरिएको उहाँले जानकारी दिनुभयो ।

बझाङका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले गृह मन्त्रालयसँग समन्वय गरी पूर्वतयारीबारे छलफल भइरहेको बताउनुभयो । जिल्लालाई उच्च जोखिममा राखिएकाले सोहीअनुसार विपद् प्रतिकार्य तयारी भइरहेको उहाँको भनाइ छ ।

स्थानीय प्रशासनसँगै सुरक्षा संयन्त्रले पनि सम्भावित क्षति न्यूनीकरणका लागि तयारी तीव्र पारेका छन् । सशस्त्र प्रहरी बल श्री नं. ७ वैद्यनाथ बाहिनी अत्तरियाका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार पाण्डेयले मौसम पूर्वानुमानअनुसार विपद् प्रतिकार्य तयारी गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सुदूरपश्चिममा तैनाथ सशस्त्र प्रहरीका कर्मचारीलाई यस अवधिमा बिदा दिइएको छैन भने विपद् प्रतिकार्यका लागि १४ वटा अस्थायी विपद् सुरक्षा बेस तयारी अवस्थामा राखिएका छन् । सरोकारवाला निकाय र सुरक्षा संयन्त्रबीच समन्वय भइरहेको उहाँले बताउनुभयो ।

बङ्गालको खाडीको मध्य भू-भाग आसपास रहेको न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै गएकाले त्यसको प्रभाव नेपालमा समेत पर्ने बताइएको छ । भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाइएको छ ।

नेपाली सेनाले पनि सुदूरपश्चिम प्रदेशमा विपद् प्रतिकार्य तयारी पूरा गरेको जनाएको छ । प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सुदूरपश्चिम पृतनामा हेलिकप्टर तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ । रासस

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update