- मुस्ताङको मार्फामा असोज ३ देखि १५ गतेसम्म स्याउ टिप्ने र खाने उत्सव ।
- स्याउ बारीमा रमाउन पर्यटकको घुइँचो, प्रवेश शुल्क रु २०० ।
- स्याउको हाँगा भाँचिएर बोटमा क्षति पुगे रु एक हजार जरिवाना ।
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा आइतबारदेखि स्याउ टिप्ने र खाने उत्सव सञ्चालन भइरहेको छ ।
मुस्ताङमा कृषि पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले असोज ३ देखि १५ गतेसम्म स्याउ टिप्ने र खाने उत्सव आयोजना गरिएको हो । रसिला र स्वादिला स्याउ उत्पादनका लागि परिचित मुस्ताङमा केन्द्रले उत्सव आयोजना गरेको केन्द्र प्रमुख प्रकाश पन्थले बताउनुभयो ।
उत्सवमा सहभागी हुन मार्फा क्षेत्रका स्याउ बगानमा पर्यटकको घुइँचो लागेको छ । स्याउ टिप्ने र बजारमा पठाउने मुख्ययाम सुरु भएसँगै मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई स्याउ बारीमै पुगेर रमाउने अवसर मिलेको छ ।
स्याउ बारीमै पुगेर उत्सवमा सहभागी हुन चाहने पर्यटक तथा स्थानीयका लागि केन्द्रले रु २०० प्रवेश शुल्क तोकेको केन्द्र प्रमुख पन्थले जानकारी दिनुभयो । स्याउ टिप्ने क्रममा हाँगा भाँचिएर बोटमा क्षति पुगे रु एक हजार जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
विसं २०२३ मा स्थापना भएको केन्द्रले शीतोष्ण फलफूल तथा तरकारीसहित अन्य बालीका बिरुवाको उत्पादन तथा बिक्री गर्दै आएको छ । रासस
