RayNewsDaily
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, बागमतीमा उच्च सतर्कता
  • असोज ९ देखि ११ गतेसम्म बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना ।
  • बाढी, पहिरो र डुबानको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह ।
  • यात्राअघि मौसम र सडकको अवस्था बुझ्न तथा जोखिम देखिए सुरक्षित स्थानमा जान अनुरोध ।

काठमाडौँ । बागमती प्रदेश सरकार, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले आगामी असोज ९ देखि ११ गतेसम्म प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ ।

मन्त्रालयले आज सार्वजनिक सूचना जारी गर्दै सम्भावित जोखिमलाई ध्यानमा राखेर आवश्यक सावधानी र पूर्वतयारी अपनाउन अनुरोध गरेको हो ।

नेपाल मौसम विज्ञान विभागका अनुसार उक्त अवधिमा बागमती प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना छ । भारी वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्ने तथा आकस्मिक बाढी, पहिरो र डुबान हुनसक्ने जोखिम रहेको मन्त्रालयले जनाएको छ ।

वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले यात्रा गर्नुअघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन मन्त्रालयले आग्रह गरेको छ । नदी तथा खोला किनार, पहिरो जोखिम भएका भूभाग, भिरालो जमिन र डुबान हुनसक्ने क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।

जोखिमको सङ्केत देखिएमा समयमै नजिकको सुरक्षित स्थानमा जान तथा स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गर्न मन्त्रालयले सुझाव दिएको छ । अति आवश्यक अवस्थाबाहेक लामो दूरी तथा रात्रीको समयमा यात्रा नगर्न र बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिन पनि आग्रह गरिएको छ ।

त्यस्तै, पशुचौपाया, खाद्यान्न, औषधि, महत्वपूर्ण कागजात तथा अन्य आवश्यक सामग्री सुरक्षित स्थानमा राख्न अनुरोध गरिएको छ ।

प्रदेश सरकारका सम्बन्धित निकाय, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवालालाई आवश्यक पूर्वतयारीसहित सतर्क अवस्थामा रहन निर्देशन दिइएको छ । जोखिममा रहेका नागरिकलाई आवश्यकताअनुसार समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी मिलाउन पनि भनिएको छ ।

मन्त्रालयले नेपाल मौसम विज्ञान विभाग, सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सुरक्षा निकायबाट जारी हुने आधिकारिक पूर्वानुमान, पूर्वसूचना र चेतावनी नियमित रूपमा हेर्न तथा सम्बन्धित निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ ।

वर्षा तथा बाढीबारे आवश्यक जानकारीका लागि ११५५, विपद् सहायता १२३४, नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बल नेपालको १११४ तथा मन्त्रालयगत विपद् सम्पर्क व्यक्ति ९७६९७६१२१४ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ । आधिकारिक सूचनालाई मात्र आधार बनाउन र अफवाहमा विश्वास नगर्न पनि मन्त्रालयले प्रदेशवासीलाई आग्रह गरेको छ । रासस

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update