- भोटेकोशी बाढीपीडितको राहत, पुनःस्थापना र पुनर्निर्माण सरकारको प्राथमिकतामा ।
- सुरक्षित स्थानमा नयाँ बस्ती विकासका लागि स्थानीय तहसँग छलफल ।
- पुनर्निर्माणमा एनआरएनएसहित सबै निकायसँग सहकार्य गर्ने सरकारको तयारी ।
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि सरकार विभिन्न निकायसँग समन्वय र सहकार्य गरेर अघि बढिरहेको बताउनुभएको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा भएको भेटवार्तामा उहाँले बाढी प्रभावितको वास्तविक आवश्यकता पहिचान गरी राहत, पुनःस्थापना र पुनर्निर्माणका कार्यक्रम अघि बढाइएको बताउनुभयो ।
बाढीका कारण विस्थापित परिवारलाई पुरानै स्थानमा पुनःस्थापित गर्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै उहाँले सुरक्षित स्थानमा नयाँ बस्ती विकासका लागि स्थानीय तहसँग छलफल भइरहेको जानकारी दिनुभयो । “पहिल्यैको ठाउँमा बस्ती राख्न सक्ने अवस्था छैन । स्थानीय तहबाट कहाँ बस्ती बनाउन उपयुक्त हुन्छ भनेर छलफल भइरहेको छ”, उहाँले भन्नुभयो ।
मन्त्री डा. तिमिल्सिनाले पुनर्निर्माण तथा पुनःस्थापनाका काम छुट्टाछुट्टै रूपमा गर्नुभन्दा एकीकृत ढङ्गले अघि बढाउनुपर्ने बताउनुभयो । कुनै एक निकायले नेतृत्व लिने र अन्य सरकारी तथा गैरसरकारी निकायबाट आवश्यक सहयोग परिचालन गर्दा छिटो परिणाम प्राप्त हुने उहाँको भनाइ थियो ।
भेटवार्तामा सरकारले भोटेकोशी बाढी प्रभावितका लागि गरिरहेको काम तथा त्यसमा एनआरएनएले गर्न सक्ने सहयोगबारे छलफल भएको थियो । एनआरएनएले पुनःस्थापना र पुनर्निर्माणका काममा सरकारसँग सहकार्य गर्न तयार रहेको जनाएको छ ।
एनआरएनएले भोटेकोशी बाढी प्रभावितका लागि राहत वितरणको तेस्रो चरण सञ्चालन भइरहेको जानकारी दिएको छ । विस्थापित तथा जोखिममा रहेका महिला, बालबालिका र अन्य संवेदनशील समुदायलाई लक्षित गरी राहत तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो ।
विपद्का समयमा राहत सामग्रीसँगै सही र समयमै सूचना प्रवाह आवश्यक रहेको उल्लेख गर्दै एनआरएनएले राहत वितरणसम्बन्धी सूचना आदानप्रदान, समन्वय र साझेदारीमा सरकारसँग सहकार्य गर्न चाहेको जनाएको छ । शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा पनि थप सहयोग गर्न एनआरएनए तयार रहेको बताइएको छ ।
भेटमा नेपालमा थप स्रोत, साधन र पुँजी भित्र्याउने विषयमा समेत छलफल भएको थियो । एनआरएन डेभलपमेन्ट फन्डको कार्यप्रगति तथा नेपालमा लगानी र विकासका क्षेत्रमा त्यसको उपयोग गर्ने सम्भावनाबारे पनि छलफल भयो ।
मन्त्री डा तिमिल्सिनाले गैरआवासीय नेपालीबाट नेपालमा थप लगानी भित्र्याउन सकिने सम्भावनाबारे चासो व्यक्त गर्दै आवश्यक सहजीकरण र सहकार्यका लागि सरकार तयार रहेको बताउनुभयो ।
भेटवार्तामा गैरआवासीय नेपालीसम्बन्धी कानुनी व्यवस्थामा संशोधन, गैरआवासीय नेपाली नागरिकता, सूचना प्रविधिको प्रयोग, डिजिटल सेवाको प्रभावकारिता तथा प्रवासी नेपालीको ज्ञान, सीप र पुँजीलाई नेपालको विकासमा उपयोग गर्ने विषयमा पनि छलफल भएको थियो । रासस
