- रात्रिकालीन बस सेवा विस्तार गर्न नौ स्थानीय तहको सहकार्य ।
- छ रुटमा ३० वटा बस सञ्चालन गरिने ।
- अधिकतम ८० रुपैयाँ भाडामा विभिन्न क्षेत्रमा पुग्न सकिने ।
काठमाडौँ । काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार गर्न नौ स्थानीय तह साझा कार्यक्रममा आबद्ध भएका छन् । काठमाडौँ महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरी गत वैशाख १ गतेदेखि परीक्षणका रूपमा सञ्चालन गरिएको सेवालाई विस्तार गर्दै नियमित र दिगो बनाउने उद्देश्यले स्थानीय तहहरूबीच समझदारी भएको हो ।
रातको समयमा आवतजावत गर्ने सर्वसाधारण, व्यवसायी, उद्यमी, श्रमिक, अस्पताल जाने बिरामी तथा आन्तरिक एवं बाह्य पर्यटकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउने उद्देश्यले संविधान दिवसका दिन स्थानीय तहका प्रमुखहरूले साझा यातायातसँग समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका, गोदावरी नगरपालिका, चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिकाले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । साझा यातायातका तर्फबाट अध्यक्ष शुशिलराज प्याकुरेलले हस्ताक्षर गर्नुभएको छ । साझा यातायातको कार्यालयमा आयोजित समारोहमा समझदारी भएको हो ।
समझदारीपछि छ वटा रुटमा ३० वटा बस सञ्चालन गरिनेछ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले परीक्षण अवधिमा सञ्चालन गरिएका दुई रुटमा चार वटा थप गरी सेवा विस्तार गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “परीक्षण कालमा अभ्यास गरिएको दुई वटा रुटमा चार वटा थपेका छौँ । सात वटा गाडीलाई ३० वटा पुर्याएका छौँ । चार वटा नगरपालिकाको सहकार्यमा नौ वटा पुगेका छौँ । यसलाई अझ विस्तार गर्ने र आवश्यकताका आधारमा आर्थिक दायित्व पनि वहन गर्ने गरी सहकार्य थालेका छौँ । अब यो सेवा रोकिँदैन । निरन्तर र दिगो रूपमा चल्छ ।”
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उपत्यकाको यातायात सहज बनाउन सङ्घीय सरकारबाट मेट्रो वा बस र्यापिड ट्रान्जिट (बीआरटी) सञ्चालनको योजना आउन नसकेको बताउनुभयो । उहाँले स्थानीयस्तरबाट सञ्चालन गर्न सकिने यातायात प्रणालीमा सहकार्य सुरु गरिएको र यसलाई निरन्तर विस्तार गरिने बताउनुभयो ।
उहाँले रातको समयमा सर्वसाधारणलाई सुरक्षित आवतजावतका लागि भरपर्दो सेवा सुरु हुनु नागरिकसँग जोडिएको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो ।
साझा यातायातका अध्यक्ष प्याकुरेलले स्थानीय तहलाई साझाको अभिभावकका रूपमा जोड्न पाउनु संस्थाका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।
विस्तारित सेवाअन्तर्गत जगाती-सूर्यविनायक हुँदै ठमेलसम्म छ वटा, साबिक लगनखेल-बूढानीलकण्ठ रुट विस्तार गरी गोदावरीसम्म छ वटा, चक्रपथमा घडीको दिशामा र विपरीत दिशामा आठ वटा, कीर्तिपुर-जमलमा चार वटा, टाखेल-ठमेलमा दुई वटा तथा साबिक नागढुङ्गा-एयरपोर्ट रुटमा चार वटा बस सञ्चालन गरिनेछ ।
यसअघि लगनखेल-बूढानीलकण्ठ तथा नागढुङ्गा-एयरपोर्ट रुटमा राति ८ बजेदेखि ११ बजेसम्म सात वटा बसमार्फत नमूना सेवा सञ्चालन गरिएको थियो । सेवाको प्रभाव, मूल्याङ्कन तथा लाभलागत विश्लेषणपछि नाफाघाटाभन्दा सेवा सञ्चालनलाई प्राथमिकता दिने निष्कर्ष निकालिएको थियो ।
रात्रिकालीन बस सञ्चालनको खर्च यात्रुबाट प्राप्त टिकट आम्दानीले नपुगेमा अपुग रकमको ५० प्रतिशत सम्बन्धित सात नगरपालिकाले समान रूपमा ब्यहोर्ने र बाँकी ५० प्रतिशत रकम सम्बन्धित नगरपालिकाको जनसङ्ख्याका आधारमा बाँडफाँट गरिने सहमति भएको छ । जसअनुसार काठमाडौँ र ललितपुर महानगरपालिकाले १८ दशमलव ५५ प्रतिशत तथा अन्य सात नगरपालिकाले नौ प्रतिशतका दरले रकम ब्यहोर्नेछन् ।
सेवा सञ्चालनका लागि खर्च अपुग भए साझा यातायातले त्रैमासिक रूपमा रकम माग गर्ने समझदारीमा उल्लेख छ ।
बसमा यात्रु चढ्ने र ओर्लने स्थान सम्बन्धित नगरपालिकाले निर्धारण गर्नेछन् । ती स्थानमा आर्थिक वर्ष २०८३/८४ भित्र डिजिटल साइनेज बोर्डसहित डिजिटल बस स्टप निर्माण तथा सञ्चालनको जिम्मेवारी साझा यातायातलाई दिइएको छ । यसका लागि सम्बन्धित नगरपालिकाले आवश्यक समन्वय तथा सहजीकरण गर्नेछन् ।
निर्धारित रुटको अन्तिम बिन्दुमा बस चार्जिङ स्टेसन निर्माणका लागि सम्बन्धित नगरपालिकाले आवश्यक जग्गा उपलब्ध गराउने र साझा यातायातले चार्जिङ स्टेसन जडान गर्ने सहमति भएको छ । चार्जिङ स्टेसनको सुरक्षाको जिम्मेवारी भने सम्बन्धित नगरपालिकाले लिनेछन् ।
यात्रुको चाप र आवश्यकता बढ्दै गएमा भविष्यमा अन्य क्षेत्रमा समेत रात्रिकालीन बस सेवा विस्तार गर्न सकिनेछ । चक्रपथमा यातायात सेवा विस्तार भएपछि एक ठाउँमा बस परिवर्तन गरेर विभिन्न क्षेत्रमा पुग्न सकिने र अधिकतम ८० रुपैयाँ भाडा लाग्ने बताइएको छ ।
टिकटबाट हुने आर्थिक चुहावट रोक्न साझा यातायातले असोज १ गतेदेखि डिजिटल टिकटिङ प्रणालीसमेत सञ्चालनमा ल्याएको छ । क्यूआरमार्फत वा नगद भुक्तानी गरेर टिकट लिन सकिने व्यवस्था गरिएको छ । आर्थिक चुहावट घटेपछि साझा यातायातको घाटा कम हुने अपेक्षा गरिएको छ ।
साझा यातायातमा नेपाल सरकारको तीन अर्ब रुपैयाँ र काठमाडौँ महानगरपालिकाको १५ करोड रुपैयाँ शेयर लगानी रहेको छ । हाल साझा यातायातसँग १११ वटा बस छन् । रासस
