- मधेसमा दुई महिनामै २५० जनाले आत्महत्या गरे ।
- सिरहा र बारामा सबैभन्दा बढी ४६/४६ जनाको मृत्यु ।
- १८ देखि ४० वर्ष उमेर समूहका बढी ।
जनकपुरधाम । पछिल्लो समय मधेस प्रदेशका जिल्लामा आत्महत्याका घटना बढ्दै गएका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउन र भदौमा प्रदेशका विभिन्न जिल्लामा गरी २५० जनाले आत्महत्या गरेका छन् ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार साउनमा ८८ र भदौमा १६२ जनाले आत्महत्या गरेका हुन् । तीमध्ये सिरहा र बारामा ४६/४६, सप्तरीमा ३९, रौतहटमा ३०, धनुषा र महोत्तरीमा २४/२४, सर्लाहीमा २१ तथा पर्सामा २० जना छन् ।
प्रहरीका अनुसार अधिकांशले झुण्डिएर र विष सेवन गरेर आत्महत्या गरेका छन् । केहीले हाम फालेरसमेत आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा १६ वर्षमुनिदेखि ७० वर्षसम्मका व्यक्ति छन् । १८ देखि ४० वर्ष उमेर समूहको सङ्ख्या बढी रहेको प्रहरी वरिष्ठ उपरीक्षक ढकालले बताउनुभयो । उहाँका अनुसार पुरुषको तुलनामा महिलाले बढी आत्महत्या गर्ने गरेका छन् ।
आत्महत्याको ठोस कारण यकिन गर्न नसकिए पनि घरायसी विवाद, प्रेममा असफलता, गरिबी, बेरोजगारी तथा जीवनका दुःखकष्ट सहन नसक्नुलगायत कारण हुन सक्ने स्थानीय बुद्धिजीवीहरू बताउँछन् ।
महिला अधिकारकर्मी सरस्वती मण्डलले महिलामाथि हुने हिंसाका कारण पनि पुरुषको तुलनामा महिलाले बढी आत्महत्या गर्ने गरेको बताउनुभयो । आत्महत्या गर्नेमा सामान्य आर्थिक अवस्थाका व्यक्ति बढी रहेको उहाँको भनाइ छ ।
स्थानीय बुद्धिजीवी एवं नागरिक समाजका अगुवा रामकुमार साहले आत्महत्याको समस्या समाधानका लागि समाजका सबै पक्ष गम्भीर भएर एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले मनोसामाजिक परामर्श तथा मनोचिकित्सक सेवा सञ्चालनमा जोड दिनुभयो । रासस
