- रसुवा र नुवाकोटमा ५९ हजार ७३२ जनाले ओसिभी खोप पाए ।
- बाढी प्रभावित क्षेत्रमा टिडी खोप अभियान पनि जारी ।
- रसुवा र नुवाकोटमा एमआर खोप अभियानको तयारी सुरु ।
काठमाडौँ । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने हैजाविरुद्धको खोप ‘ओरल कोलेरा भ्याक्सिन (ओसिभी)’ अभियान तीव्र बनाइएको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको ‘बाढी प्रभावित क्षेत्रमा नियमित खोप सेवा तथा खोपबाट रोकथाम गर्न सकिने रोगहरूको निगरानी’ सम्बन्धी पछिल्लो प्रतिवेदनअनुसार रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा ५९ हजार ७३२ जनाले ओसिभी खोप पाएका छन् ।
प्रतिवेदनअनुसार रसुवामा १५ हजार ८१२ र नुवाकोटमा ४३ हजार ९२० जनाले हैजाविरुद्धको खोप पाएका हुन् । रसुवाका गोसाइँकुण्ड, उत्तरगया, आमाछोदिङ्मो र कालिका गाउँपालिकामा तथा नुवाकोटका विदुर, बेलकोटगढी, किस्पाङ र तारकेश्वर गाउँपालिकामा खोप अभियान सञ्चालन भइरहेको छ ।
यसैबीच, बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी, उद्धारकर्मी तथा घाइतेलाई टिटानस-डिफ्थेरिया (टिडी) खोप पनि प्रदान भइरहेको छ । रसुवाका चार स्थानीय तहमा ८२१ जनाले टिडी खोप पाएका छन् भने नुवाकोटको विदुर नगरपालिकामा ११३ जनाले टिडी खोप लगाएका छन् ।
प्रतिवेदनअनुसार बाढीपछि दादुराको शङ्कामा आठ वटा रिपोर्ट प्राप्त भएकामा सात नमुनाको परीक्षण नेगेटिभ आएको छ । एउटा नमुनाको नतिजा आउन बाँकी छ । तीमध्ये रसुवाका छ र नुवाकोटका दुई नमुना रहेका छन् ।
परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमकाले बाढी प्रभावित क्षेत्रमा नियमित खोप सेवा, रोग निगरानी तथा हैजा नियन्त्रण अभियानलाई सँगसँगै अघि बढाइएको बताउनुभयो ।
उहाँका अनुसार रसुवा र नुवाकोटमा दादुराविरुद्धको ‘एमआर’ खोप अभियानको तयारी सुरु भएको छ । धादिङ, गोरखा र तनहुँका बाँकी प्रभावित वडामा पनि ‘ओसिभी’ खोप अभियान सञ्चालनका लागि तयारी भइरहेको उहाँले बताउनुभयो । रासस
