- डीएनए परीक्षणका लागि ८३७ शव र ८२५ आफन्तको नमूना सङ्कलन ।
- ५८८ आफन्तको डीएनए परीक्षण पूरा, १९ शवको परीक्षण सम्पन्न ।
- विदेशी विज्ञको सहयोगमा एक महिनापछि डीएनए मिलान सुरु गर्ने तयारी ।
ललितपुर । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि सरकारले डीएनए परीक्षणलाई तीव्रता दिएको छ । ललितपुरमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका प्रमुख वैज्ञानिक एवं फोरेन्सिकविज्ञ निराजन थापाक्षेत्रीका अनुसार डीएनए परीक्षणका लागि अहिलेसम्म ८३७ शव र ८२५ आफन्तको नमूना सङ्कलन भएको छ ।
प्रयोगशालाका प्रमुख थापाले रासससँग कुरा गर्दै अहिलेसम्म प्रयोगशालामा ८३७ शव र ८२५ परिवारका सदस्यको नमूना प्राप्त भएको जानकारी दिनुभयो । प्राप्त आफन्तको रगतका नमूनामध्ये ५८८ वटाको डीएनए परीक्षण भइसकेको छ भने ८३७ शवमध्ये १९ वटाको मात्र डीएनए परीक्षण भएको छ ।
प्रयोगशालामा प्राप्त एक हजार ६६२ नमूनाको प्रोफाइल निकालेर डीएनए मिलान गरेपछि परिवारलाई शव हस्तान्तरण गरिने उहाँले बताउनुभयो । परिवार र आफन्तले अपेक्षा गरेजस्तो छिटो काम गर्न प्राविधिक कठिनाइ रहेको उहाँको भनाइ छ ।
कुनै व्यक्तिको शरीरबाट लिइएको नमूनाबाट प्राप्त डीएनएले जैविक पहिचानसम्बन्धी जानकारी दिने भएकाले विपद्मा मृत्यु भएकाको शव पहिचानका लागि डीएनए परीक्षण वैज्ञानिक प्रक्रिया मानिन्छ ।
भोटेकोशी विपद्मा परेका व्यक्ति र परिवारको इतिहास पत्ता लगाउन प्रयोगशालाले अटोजमल डीएनए परीक्षण विधि अपनाएको प्रमुख थापाले जानकारी दिनुभयो । वंशावली तथा पारिवारिक सम्बन्ध पहिचानका लागि यो विधि अन्तरराष्ट्रियस्तरमा प्रयोग हुँदै आएको उहाँले बताउनुभयो ।
अटोजमल डीएनए परीक्षणबाट पितृत्व र मातृत्वको वंश तथा व्यक्तिव्यक्तिबीचको जैविक सम्बन्ध पहिचान गर्न सकिने उहाँको भनाइ छ । यस विधिबाट मृतकको आफन्तसँगको नाता कायम भए/नभएको र व्यक्तिको पहिचान गर्न सहयोग पुग्छ ।
परिवारका सदस्यले दिएको रगतको नमूना र मृतकको शरीरबाट लिइएको नमूनाको परीक्षणपछि मात्र डीएनए मिलानको काम सुरु हुने उहाँले बताउनुभयो । अहिले परिवारका सदस्यको डीएनए प्रोफाइल तयार गर्ने काम करिब ७० प्रतिशत पूरा भएको छ ।
“परिवारका सदस्यसँग मृतकको डीएनए मिलाउने काम सुरु भएको छैन । मृतकका आफन्तको प्रोफाइलबाट डीएनए परीक्षणको काम सकेपछि मात्र शवसँग मिलानको काम हुन्छ”, प्रमुख थापाले भन्नुभयो ।
उहाँका अनुसार अहिलेदेखि सङ्कलन भएका नमूना र शवका अङ्गबाट लिइएका प्रमाणको डीएनए मिलान करिब एक महिनापछि सुरु हुने अपेक्षा गरिएको छ । विदेशी विज्ञको निरन्तर सहयोग भएमा एक महिनापछि नमूनाको परीक्षण सकेर डीएनए मिलान सुरु गर्न सकिने उहाँले बताउनुभयो ।
अहिले ललितपुरस्थित प्रयोगशालामा नेपालसहित भारत, चीन र कोरियाका विज्ञ टोलीले डीएनए परीक्षण तथा शव परीक्षणमा सहयोग गरिरहेका छन् । सिङ्गापुर, जापान र अमेरिकाबाट आएका चिकित्सक तथा विशेषज्ञ टोलीले पनि परीक्षणमा सहयोग गरिरहेका छन् ।
हड्डीबाट डीएनए परीक्षण गर्न समय लाग्ने भएकाले विदेशी विज्ञ लामो समयसम्म नेपालमा रहेमा मिलानको काम छिटो सुरु गर्न सकिने प्रमुख थापाले बताउनुभयो ।
आफन्तको डीएनए प्रोफाइल तयार भएपछि शवसँग तुलना गर्न औँठाछाप, दाँत, रगत, कपाल, हड्डीलगायतबाट लिइएका नमूनाको प्रयोग गरिनेछ । सरकारले शव पहिचान दुई चरणमा गर्ने तयारी गरेकाले थप सङ्कलन हुने नमूनाको परीक्षण दोस्रो चरणमा गर्न सकिने उहाँले जानकारी दिनुभयो ।
नुवाकोटका विभिन्न गाउँमा घुम्ती टोली परिचालन गरी डीएनए परीक्षणका लागि नमूना सङ्कलन भइरहेको छ । ती नमूना प्रयोगशालामा प्राप्त भएपछि परीक्षणमा थप समय लाग्न सक्ने प्रमुख थापाले बताउनुभयो ।
भोटेकोशी बाढीपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटार र नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा डीएनए परीक्षणको काम भइरहेको छ । रासस
