RayNewsDaily
फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन
  • भोटेकोशी बाढीपछि २३ दिनदेखि टेकराज थामी बेपत्ता ।
  • श्रीमती कालिका अझै फर्केर आउने आशमा ।
  • परिवारले शनिबार कुशको प्रतिमा बनाएर अन्त्येष्टिको तयारी गर्दै ।

प्रगति ढकाल/काठमाडौँ ।

“सपना हो कि विपना हो यो, के हो जिन्दगी ?
छिनको छिनै बदलियो, के भो जिन्दगी ?”

चर्चित गजल गायक थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर तथा प्रभा बर्तौलाको शब्द रहेको यो गीतका हरफले जीवनको अनिश्चितता र एकाएक बदलिने परिस्थितिको पीडा बोल्छन् ।

यतिबेला यी हरफ दोलखाकी कालिका खड्काको जीवनसँग ठ्याक्कै मिलेजस्तो भएको छ । सपना र विपना के हो ? गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उहाँले अझै छुट्याउन सक्नुभएको छैन ।

चीनको केरुङमा ‘साउथ एसिया रिसर्च सेन्टर इन साउथवेस्ट चाइना’ को कार्यक्रममा सहभागी हुन जाने भन्दै रसुवागढीतर्फ हिँड्नुभएका उहाँका श्रीमान् टेकराज थामी भदौ १० गते बिहानदेखि सम्पर्कविहीन हुनुहुन्छ ।

न फोन आएको छ, न एसएमएस । न त उहाँको अवस्थाबारे कुनै खबर नै । जसरी हरेक दिन साँझ पर्न थालेपछि चराचुरुङ्गी आफ्ना गुँडतर्फ फर्किन्छन्, दिनभर काममा गएकाहरू पनि साँझ घर फर्किन्छन् । साँझ छिप्पिँदै जाँदा सडकमा मानिसको आवतजावत पनि बिस्तारै कम हुँदै जान्छ ।

त्यसैबेला कालिकाको मनमा जिज्ञासा उठ्छ- यतिबेलासम्म किन घर नफर्केको होला ? कतैबाट टुप्लुक्क मेरो श्रीमान् पनि घर फर्किनुहुन्छ कि ?

कालिका मायाले टेकराजलाई ‘जी’ भनेर बोलाउनुहुन्थ्यो ।

पत्रकारिता पेसामा रहनुभएका नयाँपत्रिकाका टेकराज कहिलेकाहीँ समाचारको कामले रातिसम्म घरबाहिरै रहनुहुन्थ्यो । ढिला हुने भएपछि फोन आउँथ्यो- ‘आज अलि ढिला हुन्छ है ।’

अहिले कालिका त्यही फोनको प्रतीक्षामा बस्नुभएको पनि २३ दिन पुगिसकेको छ ।

“तिमीहरू खाना खाएर सुत ल । छोरीलाई बाबा आउन ढिला हुने भो भन्देऊ ।” प्रायः आउने यस्तै सन्देश आए पनि प्रतीक्षा त जति पनि गरिन्थ्यो नि जस्तो लाग्छ कालिकालाई ।

२३ दिन बितिसक्यो । टेकराजको फोनबाट कुनै सन्देश आएको छैन ।

“पहिला अफिसबाट ढिला हुँदा फोन आउँथ्यो । अहिले पनि साँझ परेपछि उहाँको फोन आउँछ कि जस्तो लाग्छ”, कालिका भन्नुहुन्छ, “फोन नआए पनि उहाँ फर्केर आउनुहुन्छ कि भन्ने आश भने अझै मरेको छैन ।”

घरको ढोकामा हावा लागेर ‘ढकढक’ आवाज आउँदा पनि कालिकाको मुटु बेस्सरी ढुकढुक गर्छ । उहाँलाई लाग्छ- टेकराज पो आउनुभयो कि ! तर ढोका खोल्दा बाहिर कोही हुँदैन ।

सधैँ अफिसबाट फर्कने बाबालाई ढोकामा स्वागत गर्न दौडिने छोरी कृतिकाले पनि २३ दिनदेखि त्यो अवसर पाएकी छैनन् । बाबा घर फर्केपछि छोरीले ढोका खोल्न नआएसम्म आफू बाहिरै बस्ने भन्दै टेकराजले मायाले घुर्काउनुहुन्थ्यो ।

छुट्टीको समयमा सधैँ बाबाछोरी घुम्न निस्कन्थे । तर २३ दिनयता कति स्कुल छुट्टी भए, कृतिकालाई हात समाएर घुमाउने बाबाको साथ छैन । कुशे औँसीमा पनि तस्बिर हेरेर चित्त बुझाउनुपर्‍यो । सानासाना खुसी बाबासँग ‘शेयर’ गर्ने कृतिकाले महिना दिन पुग्न लाग्दा पनि बाबासँग त्यो खुसी साट्ने अवसर पाएकी छैनन् ।

सडकमा मोटरसाइकल गुडेको आवाज सुन्नासाथ कृतिका सोध्छिन्, “बाबा आउनुभएछ कि ?”

छोरीको त्यो प्रश्नले कालिकाको मन झन् भारी हुन्छ ।

“सडकमा मोटरसाइकल चल्दा पनि छोरीले ‘बाबा आउनुभएछ क्यारे’ भन्छिन्”, कालिका सुनाउनुहुन्छ, “मलाई पनि अझै सबै जना अफिसबाट फर्किएजस्तै उहाँ पनि घर फर्केर आउनुहुन्छ कि जस्तो लागिरहन्छ ।”

कहिलेकाहीँ कसैले चप्पल बजाउँदै हिँडेको आवाज सुन्दा पनि कालिकालाई टेकराज कतै नजिकै हुनुहुन्छ कि जस्तो लाग्छ । आशा र निराशाबीचको यही दोधारमा बितिरहेका छन् भोटेकोशी बाढीपछि उहाँका दिन ।

टेकराज कतै उपचाररत हुनुहुन्छ कि ? कुनै सुरक्षित ठाउँमा हुनुहुन्छ कि ? आज नभए भोलि घरको ढोकामा आइपुग्नुहुन्छ कि ? कालिकाको मनमा यी प्रश्न अझै बाँकी छन् ।

त्यसैले उहाँको मनले अहिलेसम्म टेकराजलाई मृत घोषणा गर्ने आँट गर्न सकेको छैन । तर फर्केर आउनुहुन्छ भनेर ढुक्क हुने आधार पनि छैन । यी र यस्तै अनिश्चितताले कालिकाको मनलाई हरेक दिन जटिल किसिमको परीक्षामा पारिरहेको छ ।

दियोको ज्योतिसँग जोडिएको आशा

टेकराज सम्पर्कविहीन भएदेखि नै कालिकाले भगवान्को अगाडि बत्ती बालिरहनुभएको छ । बलिरहेको बत्तीलाई उहाँ निकैबेर नियालेर हेर्नुहुन्छ । बत्ती उज्यालो र स्थिर देखियो भने मनमा आशा पलाउँछ- टेकराज सुरक्षित नै हुनुहुन्छ होला ।

तर कहिलेकाहीँ झ्यालढोकाबाट छिरेको सिरसिरे बतासले त्यही बत्तीको ज्योति धिपधिप गराउँछ ।

दियोको ज्योति उज्यालो हुँदा कालिकाको अनुहार पनि उज्यालिन्छ । बतासले बत्तीको ज्योति मधुरो बनाउँदा उहाँको मनमा पनि आशाको उज्यालो धमिलिन्छ ।

“बत्ती राम्रोसँग बलिरहेको देख्दा उहाँ सुरक्षित हुनुहुन्छ कि भन्ने आश लाग्छ”, उहाँ भन्नुहुन्छ, “तर हावाले बत्ती धिपधिप गर्दा कतै नराम्रो सङ्केत त होइन भन्ने डर लाग्छ ।”

कालिकाका लागि पछिल्ला दिन यसैगरी बितिरहेका छन्- आशाको एउटा सानो उज्यालो समातेर अनिश्चितताको अँध्यारोसँग लड्दै ।

“जबजब मलाई उज्यालोको आश लाग्छ,
आमा यो टुकीमा किन बतास लाग्छ ?”

गजलकार प्रदीप रोदनका यी हरफ बाढीमा बेपत्ता भएर आफन्त सकुशल फर्किने आशामा दिन गनिरहेका कालिका र अन्य बेपत्ता परिवारको पीडासँग मिल्छन् ।

‘सररर पानी घट्टामा’ बोलको गीतका हरफझैँ उहाँको दिनचर्या पनि बितिरह्यो :

“बसेकी छु हजुरको नाम जप्दै,
दियो बाल्दै त्यसैमा तेल थप्दै...”

बाहिर बत्ती धिपधिप गरिरहँदा भित्र कालिकाको आशा पनि त्यसैगरी डगमगाइरहेको छ । कहिले दुवै उज्याला हुन्छन्, कहिले दुवै मधुरो ।

गत भदौ १० गते टेकराज चीनको केरुङ पुगिसक्नुभएको होला भन्ने कालिकालाई लागेको थियो । उहाँलाई दिइएको जानकारीअनुसार बिहान ७ बजे नै चीनतर्फ जाने तयारी थियो ।

त्यसै दिन अचानक भोटेकोशी नदीमा ठूलो बाढी आएको खबर सञ्चारमाध्यममा छ्याप्छ्याप्ती आउन थाल्यो । बाढीको खबर सुन्दा कालिकाको मन झस्कियो । तर त्यतिबेलासम्म टेकराज बाढीको जोखिम क्षेत्र पार गरेर चीनतर्फ लागिसक्नुभएको होला भन्ने उहाँलाई लागेको थियो ।

दिनभर फोन आउँछ कि भनेर कालिका कुरिरहनुभयो । साँझ पर्न थाल्यो । घरका अरू सदस्य पनि फोनको प्रतीक्षामा थिए तर फोन आएन ।

“चीनतिर सामाजिक सञ्जाल राम्रो चल्दैन होला, नेटवर्कको समस्या भयो होला, कुनै अवरोध आयो होला”, कालिकाले आफैँलाई सम्झाउनुभयो, “भोलि त पक्कै फोन आउला ।”

यही आशामा त्यो रात बित्यो । भोलिपल्ट पनि फोन आएन । पर्सिपल्ट पनि आएन । दिन बित्दै गए । न कुनै खबर आयो, न फोन ।

विस्तारै कालिकाको मनमा आशाभन्दा डर बढ्न थाल्यो । सुरुमा ‘नेटवर्कको समस्या होला’ भनेर मन बुझाउन खोजे पनि दिनहरू बित्दै जाँदा मनले अनेक प्रश्न गर्न थाल्यो- कतै केही त भएन ?

त्यही प्रश्नले कालिकाको मनमा चिसो पस्न थाल्यो । त्यसपछि सुरु भयो टेकराजको खोजी ।

विसं २०६८ वैशाख २८ गते कालिका र टेकराज थामीको नेपाल बार एसोसिएसनको सभा हलमा प्रगतिशील विवाह भएको थियो । सहयात्राका सुन्दर १५ वर्ष १५ दिन कटिसकेका थिए ।

छोरा हराएदेखि आँखा ओभानो छैन बा-आमाको

आमा लीलादेवी र बुबा डिलबहादुरलाई छोरा हराएदेखि आँखा ओभानो छैन । छोरा आउने आशामा २३ दिन बितिसकेको छ ।

टेकराजका भाइ प्रेमबहादुर थामी दुबईबाट दाइ खोज्न आकस्मिक बिदा मिलाएर नेपाल आउनुभयो । नेपाली सेनाको हेलिकप्टरमा खोजीका लागि रसुवा पुग्दा पनि कहीँकतै केही भेटिएन । त्यसपछि निराश भएर फर्किनुभयो । भाइहरू गङ्गाबहादुर र सन्तोष पनि दाइ हराएदेखि बेचैन छन् ।

टेकराजकी सासूआमा विष्णुमाया खड्काले रक्षाबन्धनका दिन ज्वाइँ टेकराजसँग कुरा गर्न खोज्नुभयो । ज्वाइँ बेपत्ता भएको सुनेदेखि उहाँ पनि भावविह्वल हुनुहुन्छ ।

“ज्वाइँ अहिले यतैबाट आउनुहुन्छजस्तो लाग्छ”, उहाँ भन्नुहुन्छ ।

कालिकाका भाइ विश्वास खड्का भिनाजुको फोटो बोकेर अस्पतालहरूमा भौँतारिनुभयो । आँखाभरि आँसु बगाउँदै बेपत्ताहरूको समूहमा भिनाजुको फोटो टाँस्नुभयो तर भिनाजु कतै भेटिनुभएन ।

‘मिसकल’ले झुक्याएको त्यो क्षण

टेकराज सम्पर्कविहीन भएको दुई-तीन दिनपछि एकाएक उहाँकै म्यासेन्जरबाट ‘मिसकल’ आएको खबर फैलियो । त्यो एउटा मिसकलले केही क्षणका लागि कालिका, परिवार र आफन्त खुसी भए । मनमा एउटै कुरा आयो- टेकराज कतै सुरक्षित हुनुहुन्छ ।

सायद उद्धारको पर्खाइमा हुनुहुन्छ । त्यसैबीच सामाजिक सञ्जालमा टेकराज सम्पर्कमा आउनुभएको भन्ने खबर पनि फैलियो । धेरैले राहतको लामो सास फेरे । कालिकाको फोन, भाइबर र म्यासेन्जरमा बधाईको ओइरो लाग्यो ।

तर त्यो खुसी धेरै बेर टिकेन ।

कालिकाले नै सामाजिक सञ्जालमार्फत टेकराजसँग अहिलेसम्म सम्पर्क हुन नसकेको स्पष्ट पार्नुभयो । म्यासेन्जरमा आएको त्यो मिसकल टेकराज आफैँले गर्नुभएको हो भन्ने पुष्टि नभएको भन्दै उहाँले भ्रममा नपर्न र खोजीमा सहयोग गर्न आग्रह गर्नुभयो ।

खुसी भएका अनुहार फेरि मलिन भए ।

“त्यो मिसकल आएको भन्ने सुन्दा उहाँ कतै सुरक्षित हुनुहुन्छ कि भन्ने लाग्यो”, कालिका भन्नुहुन्छ, “एकछिन त उहाँसँग सम्पर्क भयो भनेर खुसी पनि भयौँ तर त्यो उहाँकै मिसकल हो भन्ने निश्चित हुन सकेन । फेरि उही प्रतीक्षामा बस्नुपर्‍यो ।”

त्यो दिन कालिकाले आशा कति चाँडै जन्मिन्छ र कति चाँडै टुट्न सक्छ भन्ने महसुस गर्नुभयो । कुनै चमत्कार भएर टेकराज घर फर्किए हुन्थ्यो भन्ने कल्पना अझै कालिकाको मनमा जीवित छ ।

कहिलेकाहीँ उहाँलाई लाग्छ- कुनै दिन अचानक ढोका ढक्ढकिनेछ, बाहिर ‘जी’ टेकराज उभिनुभएको हुनेछ र कैयौँ दिनदेखि रोकिएको प्रतीक्षा त्यही क्षण सकिनेछ ।

त्यसैले कालिका अझै ढोकातिर हेर्न छाड्नुभएको छैन । फोनको घण्टी सुन्न छाड्नुभएको छैन । सडकमा कसैले मोटरसाइकल चलाउँदा कान ठाडा पार्न छाड्नुभएको छैन ।

फर्केर आउने आशा कमजोर हुँदै गएको छ, तर फर्केर आउनुहुन्न भन्ने अन्तिम सत्य स्वीकार गर्न पनि उहाँ सक्नुभएको छैन ।

सपनामा समेत पर्खंदै

विपनामा पर्खंदापर्खंदै दिन बिते । रात बिते । तर टेकराज फर्केर आउनुभएन । त्यसैले होला, अहिले कहिलेकाहीँ सपनामा भए पनि श्रीमान् आइदिए हुन्थ्यो जस्तो लाग्छ उहाँलाई ।

कहिलेकाहीँ सपनामा टेकराज आएर उहाँसँग कुराकानी गर्नुहुन्छ । सामीप्य महसुस गर्नुहुन्छ । तर एकाएक निद्रा खुल्छ । त्यो क्षण सपनाभन्दा विपना नै पीडादायी लाग्छ ।

“सपनामा उहाँलाई देख्छु । विपनामा बिलाउनुहुन्छ”, भावुक हुँदै कालिका भन्नुहुन्छ, “म नब्युँझिएको भए अझै धेरैबेर उहाँकै सामीप्यमा बस्न पाउँथेँ कि जस्तो लाग्छ ।”

भोटेकोशीको बाढीपछि टेकराज बेपत्ता भएको घटना सपना भइदिए हुन्थ्यो र सपनामा उहाँ सामीप्यमा आएको क्षणचाहिँ विपना भइदिए हुन्थ्यो भन्ने लाग्छ कालिकालाई ।

यही भावसँग मेल खान्छ गोपाल योञ्जनको शब्द तथा सङ्गीत र नारायण गोपालको स्वरमा सजिएको चर्चित गीतका यी हरफ :

“आँखाभित्र बस्नु तिमी, छातीमा निदाउनु
सपनीमा पनि मलाई सुस्तरी चिहाउनु...”

गीतमा व्यक्त भावजस्तै कालिकाले पनि टेकराजलाई आँखामा, मनमा र आफ्नै अस्तित्वभित्र राखिरहनुभएको छ । टेकराज भौतिक रूपमा उहाँसँग नभए पनि स्मृतिमा भने सधैँ रहिरहनुहुनेछ ।

“मलाई देवी मान्नुहुन्थ्यो, तिमी मेरो आमापछिको आमा हो भन्नुहुन्थ्यो । सधैँ खुसी र प्रगति चाहने । महिलालाई अत्यन्तै सम्मान गर्ने, छेउमा कसैलाई झुक्किएर छोइयो भने ढोगिहाल्ने बानी थियो । साथीहरू तिम्रो श्रीमान्जस्तो त मान्छे नै भेटिन्न भन्थे”, कालिका सम्झनुहुन्छ, “राम्रो मान्छे सायद भगवान्को प्रिय हुनुहुने रहेछ । केरुङ जाने केही दिनअघि पनि संसारमै अशान्ति छ, हाम्रो घरमा मात्रै शान्ति छ भनेको शब्द कानमा अझै गुन्जिरहेको छ । तर के थाहा टेकराजलाई केही दिनपछि म बाढीमा पर्ने छु र यो घर पनि अशान्त बन्नेछ भनेर ।”

थामी समुदायको खम्बा नै ढल्यो

नेपाल थामी समाजका अध्यक्ष रणबहादुर थामीले टेकराजको घटनाले थामी समुदायका लागि ठूलो क्षति भएको बताउनुहुन्छ ।

“थामी भाषा जान्ने मानिस जन्माउन अब हाम्रो समुदायलाई गाह्रो हुन्छ”, उहाँ भन्नुहुन्छ ।

टेकराज गोरखापत्र दैनिकमा थामी भाषा पृष्ठका संयोजकसमेत हुनुहुन्थ्यो ।

विसं २०४२ जेठ १४ गते दोलखाको कालिन्चोक गाउँपालिका-२ बाबरेमा जन्मिनुभएका टेकराजले पत्रकारितामा स्नातकोत्तर गर्नुभएको थियो । नयाँपत्रिका दैनिकमा कार्यरत उहाँ बागीश्वरी कलेज भक्तपुर र समृद्धि कलेज कौशलटारमा पत्रकारिता अध्यापनसमेत गराउनुहुन्थ्यो ।

शनिबार अन्त्येष्टिको तयारी

टेकराजको अवस्था अझै अज्ञात रहे पनि लामो समयदेखि कुनै खबर नआएपछि परिवारले अन्त्येष्टिको तयारी थालेको छ । भोलि शनिबार उहाँको कुशको प्रतिमा बनाएर दाहसंस्कार गर्ने निर्णय परिवारले गरेको छ ।

तर तयारी अगाडि बढिसक्दा पनि कालिकाको मनले टेकराज यो संसारमा हुनुहुन्न भनेर पूर्ण रूपमा स्वीकार गर्न सकेको छैन । त्यसैले दाहसंस्कारको तयारी भइरहँदा पनि श्रीमान्लाई अन्तिमपटक ‘गुडबाई’ भन्ने आँट उहाँमा आएको छैन ।

“पहिला पनि धेरैले अब नकुरौँ, दाहसंस्कार गरौँ भन्नुभएको थियो”, आँखाबाट बगेका आँसु सलको एकछेउले पुछ्दै कालिका भन्नुहुन्छ, “तर मेरो मनले मेरो श्रीमान् यो संसारमा हुनुहुन्न भनेर स्वीकार गर्नै मानेन ।”

शनिबार कुशको प्रतिमा जलाइनेछ । संस्कार पूरा हुनेछ । परिवारले टेकराजलाई अन्तिम बिदाइ दिनेछ । त्यसपछि पनि कालिकाको मनले यी कुरा स्वीकार गर्ला या नगर्ला ? उहाँसँग यसको जवाफ छैन ।

शोकलाई शक्तिमा बदल्ने साहस बटुल्दै

टेकराजको अनुपस्थितिमा अहिले कालिकाको सबैभन्दा ठूलो सहारा छोरी कृतिका हुनुहुन्छ । अनि कृतिकाका लागि आमा कालिका । दुवैले एकअर्कालाई सम्हाल्दैछन् ।

जे भयो, त्यो विगत फर्केर आउने छैन । तर जीवन रोकिएर पनि नहुने रहेछ । छोरीकै लागि भए पनि विस्तारै शोकलाई शक्तिमा बदल्नुपर्ने अठोट कालिकाले गर्नुभएको छ ।

पेशाले राष्ट्रिय समाचार समितिमा पत्रकार रहनुभएकी कालिका आफूले भोगेको पीडामा मात्रै अल्झिएर बस्न चाहनुहुन्न । अन्य महिलालाई अघि बढ्न प्रेरणा दिने आफ्नो जिम्मेवारी पनि सम्झिरहनुभएको छ ।

“म आफैँ धेरै शोकमा बसेँ भने मैले माथि उठाउन प्रयास गर्नुपर्ने अन्य महिला दिदीबहिनीलाई पनि असर पर्छ”, उहाँ भन्नुहुन्छ, “उहाँहरूलाई प्रेरणा दिन पनि अब म ‘मुभ अन’ हुनुपर्छजस्तो लाग्छ । सम्हालिँदै छु ।”

पीडा तत्काल सकिँदैन भन्ने उहाँलाई थाहा छ । तर समयसँगै चोटमा खाटा बस्ने र आफू फेरि पत्रकारितामा फर्किने विश्वास भने उहाँमा छ ।

“विस्तारै यो चोटमा खाटा बस्ला । अनि सामान्य रिपोर्टिङमा नै फर्कनेछु”, कालिका भन्नुहुन्छ ।

टेकराजलाई श्रीमती कालिकाले मात्रै गुमाउनुभएको छैन । छोरी कृतिकाले बाबुको साथ गुमाएकी छन् । परिवारले आफ्नो प्रिय सदस्य गुमाएको छ । पत्रकारिता क्षेत्रले एक होनाहार पत्रकार गुमाएको छ । 

टेकराजको बेपत्ता घटनाले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्मा बताउनुहुन्छ ।

टेकराज भौतिक रूपमा टाढा भए पनि उहाँका योगदान र स्मृतिहरू सधैँ जीवित रहनेछन् । रासस

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  १३:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update