- कोषमा १४ अर्ब ४५ करोडभन्दा बढी मौज्दात ।
- नौवटा बैंकमा १० अर्ब ७९ करोडभन्दा बढी रकम ।
- भोटेकोशी बाढीपीडितका लागि एक अर्ब रुपैयाँ निकासा ।
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम झण्डै साढे १४ अर्ब पुगेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहानसम्म विभिन्न नौवटा बैंकमा रु १० अर्ब ७९ करोड २६ लाख ६४ हजार ८९८ मौज्दात रहेको छ । त्यस्तै, कोषका दुईवटा बैंकमा रहेका डलर खातामा २ करोड ३९ लाख ३० हजार ७३१ अमेरिकी डलर जम्मा भएको छ ।
कार्यालयका अनुसार सबै खातामा गरी रु १४ अर्ब ४५ करोड ९८ लाख १० हजार १७८ जम्मा भएको छ ।
कोषमा जम्मा भएको रकममध्ये रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रु एक अर्ब निकासा भइसकेको छ ।
सरकारले हालै रसुवाका बाढी प्रभावित परिवारलाई आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि मासिक रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।
जसअनुसार चार सदस्यसम्मको परिवारलाई मासिक रु १५ हजार र थप प्रत्येक सदस्यका लागि रु दुई हजार अतिरिक्त उपलब्ध गराइनेछ । रासस
