- चङ्खेलीका वनमा बाह्रै महिना इजाजतबिनै जडीबुटी सङ्कलन ।
- बहुमूल्य जडीबुटी चोरीनिकासी बढेको स्थानीयको गुनासो ।
- इजाजतबिनाको सङ्कलन रोक्न वन कार्यालयद्वारा २१ दिने सूचना ।
हुम्ला । चङ्खेली गाउँपालिकाका विभिन्न वन क्षेत्रमा बाह्रै महिना अवैध रूपमा जडीबुटी सङ्कलन हुने गरेको पाइएको छ । स्थानीयले गैरकानुनी रूपमा जडीबुटी सङ्कलन गर्ने व्यक्तिको पहिचान भए पनि सुरक्षाका कारण उनीहरूको नाम सार्वजनिक गर्न नचाहेको बताएका छन् ।
बागेढुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रङ्गबहादुर शाहीका अनुसार चङ्खेली गाउँपालिका–२ स्थित सामुदायिक वनका सात स्थानमा जडीबुटी पाइन्छ । तीमध्ये लादुसिमेलीबाडा, रातापानी क्षेत्र, हरिनाथको कोर्ने पाटी र तिखेजुर वनबाट बाह्रै महिना जडीबुटी सङ्कलन हुने गरेको उहाँले बताउनुभयो ।
जीवन सुरक्षाको त्रासका कारण उपभोक्ता समितिका सदस्यले अवैध रूपमा जडीबुटी सङ्कलन गर्नेको नाम बताउन नचाहेको उहाँले बताउनुभयो ।
हुम्लामा जडीबुटी सङ्कलनका लागि अनुमति लिन डिभिजन वन कार्यालयले भदौ २९ गते सूचना जारी गरेको छ । अनुमति नलिई जडीबुटी सङ्कलन गर्नेलाई कारबाही गर्ने दायित्व सामुदायिक वनको समेत रहेको सबडिभिजन वन कार्यालय सर्केगाडका प्रमुख बाबुलाल बम्जनले बताउनुभयो ।
उहाँका अनुसार वन क्षेत्रमा महिनामा एक/दुई पटक अनुगमन गर्ने गरिएको छ । अनुगमनका क्रममा अहिलेसम्म अवैध रूपमा जडीबुटी सङ्कलन गर्ने व्यक्ति नभेटिएको र भेटिएमा कानुनअनुसार कारबाही गरिने उहाँले बताउनुभयो ।
स्थानीय चन्द्रबहादुर बुढाका अनुसार यहाँका केही स्थानीय व्यापारीले इजाजत नलिई जडीबुटी सङ्कलन गर्ने र पछि इजाजत प्राप्त व्यापारीलाई बिक्री गर्ने गरेका छन् ।
हुम्लाका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा बहुमूल्य जडीबुटी तथा वन्यजन्तुको चोरीनिकासी बढ्दै गएको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार वन क्षेत्रमा सुगन्धवाल, कुटकी, जटामसी, सतुवा, पदमचाललगायत बहुमूल्य जडीबुटीको अवैध सङ्कलन तथा चोरीनिकासी भइरहेको छ ।
डिभिजन वन अधिकृत महेश कुमाइले सामुदायिक तथा राष्ट्रिय वनभित्र बहुमूल्य जडीबुटी सङ्कलन तथा चोरीनिकासी गरेको पाइएमा ऐनअनुसार कडा कारबाही गरिने बताउनुभयो । उहाँले अवैध रूपमा जडीबुटी सङ्कलन नगर्न आग्रह गर्नुभएको छ ।
चङ्खेली गाउँपालिकाका विभिन्न वन क्षेत्रमा बहुमूल्य जडीबुटी तथा बोटबिरुवाको चोरीनिकासी भइरहेको भए पनि सम्बन्धित निकायले रोक्न नसकेको स्थानीय चन्द्रबहादुर बुढाले आरोप लगाउनुभयो ।
इजाजतबिनै जडीबुटी सङ्कलन रोक्न २१ दिने सूचना
चङ्खेली क्षेत्रमा जडीबुटी तथा गैरकाष्ठ वन पैदावार इजाजतबिनै सङ्कलन हुने गरेको पाइएपछि डिभिजन वन कार्यालयले सङ्कलनलाई व्यवस्थित गर्न २१ दिने सूचना जारी गरेको छ ।
गत वर्ष आवश्यक कार्ययोजना स्वीकृत नभएका कारण हुम्लामा जडीबुटी तथा गैरकाष्ठ वन पैदावार सङ्कलनको इजाजत दिन नसकिएको डिभिजन वन कार्यालय हुम्लाका प्रमुख महेश कुमाइले बताउनुभयो ।
त्यसक्रममा केही सङ्कलकले छिमेकी जिल्ला मुगु हुँदै जडीबुटी सङ्कलन तथा निकासी गरेको उहाँले बताउनुभयो । तर, अहिले मुगुमा पनि सम्बन्धित कार्ययोजना नभएको उहाँको भनाइ छ ।
यसैबीच, चालु वर्ष जडीबुटी तथा गैरकाष्ठ वन पैदावार सङ्कलनलाई व्यवस्थित र कानुनी दायरामा ल्याउन हुम्लाले भदौ २९ गतेदेखि २१ दिने सूचना जारी गरेको छ ।
सूचनामार्फत तोकिएको प्रक्रिया पूरा गरी आवश्यक इजाजत लिएर मात्रै जडीबुटी तथा गैरकाष्ठ वन पैदावार सङ्कलन गर्न आग्रह गरिएको छ ।
सम्बन्धित निकायका अनुसार इजाजतबिनै जडीबुटी सङ्कलन गर्दा वन पैदावारको अनियन्त्रित दोहन हुनुका साथै राजस्वसमेत गुम्ने जोखिम हुन्छ । त्यसैले सङ्कलन क्षेत्र, परिमाण, प्रजाति र प्रक्रियालाई कार्ययोजनाअनुसार व्यवस्थित गर्न खोजिएको हो ।
चङ्खेलीलगायत क्षेत्रमा बहुमूल्य जडीबुटी पाइने भएकाले स्थानीयको आयआर्जनसँग जोडिएको यस क्षेत्रलाई दिगो र व्यवस्थित बनाउन आवश्यक रहेको स्थानीयको भनाइ छ । रासस
