- नासो-३ खोत्रोमा चट्टानसहित पहिरो खस्यो ।
- पहिरो हटाउन नसकिएपछि सवारी आवागमन ठप्प ।
- विष्फोटक पदार्थ प्रयोग गरी सडक खुलाउने तयारी ।
मनाङ । हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा सवारी आवागमन पूर्णरूपमा ठप्प भएको छ ।
नासो गाउँपालिका-३ खोत्रोमा आज ढुङ्गासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरो हटाउन नसक्दा सवारी आवतजावत पूर्णरूपमा ठप्प भएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार दिनभर पहिरो हटाउने प्रयास गरिए पनि माथिबाट चट्टानसहित सडकमा पहिरो खसेकाले हटाउन सम्भव भएको छैन ।
“माथिबाट चट्टान बीच सडकमा खसेकाले हटाउन सम्भव भएन, नेपाली सेनालगायत सुरक्षाकर्मीको सहयोगमा विष्फोटक पदार्थ प्रयोग गरेर सडक खुलाउने प्रयासमा छौँ”, उहाँले भन्नुभयो ।
गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङले चाँडोभन्दा चाँडो सडक सञ्चालनमा ल्याउन आवश्यक रहेको बताउनुभयो । सडक अवरुद्ध हुँदा पर्यटक बढी प्रभावित बनेको उहाँले बताउनुभयो ।
पहिरो हटाएर अवरुद्ध सडक खुलाउन जिल्ला समन्वय समितिका उपप्रमुख सुरेन्द्र गुरुङसहितको टोली खटिएको छ ।
डुम्रे-बेँसीसहर-चामे सडक आयोजनाका इन्जिनियर नवीन विष्टले ड्रिलिङ गरेर सडक खुलाउने काम भइरहेको बताउनुभयो । अन्य स्थानमा गएको पहिरो भने हटाइसकिएको उहाँले जानकारी दिनुभयो ।
मर्स्याङ्दी करिडोरअन्तर्गतको सडकमा वर्षायाममा ठूला सवारीसाधन गुडाउँदा सडक भासिने तथा पहिरोको जोखिम बढ्ने गरेको उहाँले बताउनुभयो । रासस
