RayNewsDaily
भोटेकोशी बाढीमा फेला परेका १४ शवको पहिचान, ८१ आफन्तको डिएनए सङ्कलन
  • चितवनमा फेला परेका ३६४ शवमध्ये १४ को पहिचान ।
  • हराइरहेका व्यक्तिका ८१ आफन्तको डिएनए नमूना सङ्कलन ।
  • ३४९ शवको सुरक्षित व्यवस्थापन, एउटा शव बाँकी ।

नारायणगढ (चितवन) । रसुवाको भोटेकोशीमा गएको बाढीपछि चितवनमा ३६४ जनाको शव फेला परेकामा १४ शवको पहिचान भएको छ ।

हराइरहेका व्यक्तिको पहिचानका लागि उनीहरूका ८१ जना आफन्तको डिएनए नमूना सङ्कलन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म जिल्लामा फेला परेका अधिकांश शव पहिचान गर्न नसकिने अवस्थामा रहेकाले डिएनए परीक्षण तथा कानुनी प्रक्रियामार्फत व्यवस्थापन गरिएको हो ।

पहिचान खुलेका शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको उहाँले जानकारी दिनुभयो ।

पहिचान खुल्न नसकेका ३४९ शवको सुरक्षित व्यवस्थापन गरिसकिएको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो । हाल एउटा शवको मात्र व्यवस्थापन गर्न बाँकी छ ।

व्यवस्थापन गरिएका सबै शवको डिएनए नमूना सुरक्षित राखिएको उहाँले बताउनुभयो ।

हराइरहेका व्यक्तिको पहिचान खुलाउन प्रहरीले आफन्तको डिएनए नमूना सङ्कलनलाई पनि प्राथमिकता दिएको छ । सङ्कलन गरिएका डिएनए नमूना विधिविज्ञान प्रयोगशाला पठाइएको छ । रासस

 

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०८३  २०:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update