RayNewsDaily
आमालाई ६ महिना प्रसूति बिदा, बुबालाई ४२ दिन स्याहार बिदा दिने प्रस्ताव
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम
  • प्रसूति बिदा छ महिना बनाउने प्रस्ताव, बुबालाई ४२ दिन स्याहार बिदा 
  • तलबसहितको बिदा दिने व्यवस्था विधेयकमा प्रस्ताव 
  • विधेयक मन्त्रिपरिषद् हुँदै संसद्मा पेस गरिने 

रे समाचार/काठमाडौँ । सरकारले आमालाई कम्तीमा छ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्था प्रस्ताव गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनका लागि तयार गरिएको विधेयकमा उक्त व्यवस्था प्रस्ताव गरिएको जानकारी दिनुभएको हो । सामाजिक सञ्जालमार्फत आज उहाँले विधेयक अब मन्त्रिपरिषद्मा लैजाने र त्यसपछि संसद्मा पेस गरिने उल्लेख गर्नुभएको छ ।

मन्त्री गौतमले बदलिँदो जीवनशैली र कामको चापका कारण अधिकांश परिवार एक वा दुई सन्तानमा सीमित भइरहेका अवस्थामा नवजात शिशु र परिवारलाई पर्याप्त समय दिन अभिभावकलाई सहयोग गर्नु राज्यको जिम्मेवारी भएको बताउनुभएको छ ।

प्रस्तावित व्यवस्थाअनुसार आमाले कम्तीमा छ महिना तलबसहितको प्रसूति बिदा र बुबाले ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा पाउने व्यवस्था गरिनेछ ।

मन्त्री गौतमले बच्चा जन्माउने प्रक्रिया आमासँग जोडिए पनि बच्चा हुर्काउने जिम्मेवारी आमाको मात्र नभएको उल्लेख गर्दै अभिभावकत्व साझा जिम्मेवारी भएको बताउनुभएको छ ।

हाल कार्यान्वयनमा रहेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ ले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी अधिकारको व्यवस्था गरेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०८३  १०:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update